जेठ ११, २०८३ सोमबार

काठमाडौँ, ११ जेठ :  न्याय क्षेत्रमा कार्यरत कानुन व्यवसायीमा ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ आवश्यक रहेको बताइएको छ ।

विशेष अदालत बार एशोसियसनले आइतबार यहाँ आयोजना गरेको ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा न्याय क्षेत्रमा कार्यरत न्यायधीश तथा कानुन व्यवसायी तनावमुक्त हुनुपर्ने बताइएको हो ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश सुनीलकुमार पोखरेलले कानुन र संविधानका धारामा केन्द्रित हुने न्यायिक क्षेत्रमा पहिलोपटक मानसिक स्वास्थ्य  र मनोसामाजिक पक्षकाबारेमा छलफल हुनु सकारात्मक कुरा भएको बताउनुभयो ।

उहाँले न्यायिक निर्णय प्रक्रिया र कानुनी अभ्यासमा संलग्न व्यक्तिमा उच्च मानसिक तनाव हुने गरेको भन्दै यसको व्यवस्थापनका लागि सचेतना आवश्यक रहेको बताउनुभयो ।  

न्यायाधीश पोखरेलले ५१ प्रतिशत प्रमाण पुग्नेले मुद्दा जित्ने र ४९ प्रतिशत प्रमाण हुनेले मुद्दा हार्ने भएकाले हार्ने पक्षले सामाजिक सञ्जाल र अन्य माध्यमबाट गर्ने आलोचनाले न्यायाधीशमा ठूलो मानसिक दबाब सिर्जना हुने गरेको उल्लेख गर्नुभयो । “जुन दिन तपाईंले ठूलो मुद्दाको फैसला गर्नुहुन्छ, त्यो दिन बेलुका सामाजिक सञ्जाल नहेर्नुस्, यसले मानसिक शान्ति दिन्छ”, उहाँले भन्नुभयो ।

उहाँले राष्ट्रिय न्यायिक प्रतिष्ठानले दिने तालिममा एक महिनाको अवधिमा मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको एक छुट्टै कक्षा राख्न आवश्यक रहेको  उल्लेख गर्नुभयो ।

नेपाल बार एशोसियशनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले मानसिक तनावका कारण कतिपय न्याय क्षेत्रका मानिसले अकालमै आत्महत्या भएको भन्दै यसो हुन नदिन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ठूला कानुन व्यवसायी अफिसले आफ्ना कर्मचारीलाई ‘मानसिक सु स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी तालिम प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी तालिमलाई नेपाल बारलेसमेत अगाडि बढाउने स्पष्ट पार्नुभयो ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश सुदर्शनदेव भट्टले पछिल्लो समय हरेक क्षेत्रमा मानसिक तनाव बढ्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्न जरुरी रहेको उल्लेख गर्नुृभयो ।

विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवरले न्याय क्षेत्रमा हुने निरन्तरको कार्यबोझ र मानसिक चापकाबीच काम गर्ने कानुन व्यवसायीलाई राहत पु¥याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा कानुन व्यवसायीको मानसिक स्वास्थ्य परीक्षणका लागि ‘स्क्रिनिङ क्याम्प’ सञ्चालन गरिने बताउनुभयो ।

मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा ऋषभ कोइरालाले विभिन्न मुद्दाबारे चिन्ता लिँदा कानुन व्यवसायी मानसिक समस्यामा पर्ने गरेको भन्दै यसलाई कम गर्न योगा, ध्यान आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा १० जनामध्ये एक जना मानसिक समस्याको सिकार परेको बताउनुभयो ।

अमेरिकामा २८ प्रतिशत अधिवक्तामा ‘डिप्रेसन’ र १९ प्रतिशत अधिवक्तामा ‘एन्जाइटी’को समस्या देखिने गरेको डा कोइरालाले बताउनुभयो । नियमित शारीरिक गतिविधि, योगा, ध्यान, विपश्यना, सन्तुलित आहारविहार, सागसब्जी सेवन गरेमा मानसिक समस्यामा केही कमी आउने उहाँको भनाइ थियो ।