जेठ ७, २०८३ बिहिबार

मोरङ, ७ जेठ : नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मीहरु चनाखो हुनुपर्ने बताउनुभएको छ । 

    नेपाल पत्रकार महासङ्घ मोरङको वार्षिक साधारणसभाको सभाको आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष शर्माले लोकतन्त्र, प्रेस स्वतन्त्रताको संरक्षण तथा सवर्द्धनमा सरकार र सम्बन्धित निकायहरुल थप जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले पत्रकारिता पेसालाई थप सम्मानजनक र दिगो बनाउन सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रका पत्रपत्रिकाहरुलाई विज्ञापन वितरणमा हुने भेद्भाव अन्त्य गरी समान पहुँचको सुनिश्चित गर्न सरकार समक्ष माग राख्नुभयो ।

    अध्यक्ष शर्माले पत्रकारको आन्दोलन आगामी दिनमा थप सशक्त रुपमा अगाडि बढाउने जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चार क्षेत्र बलियो भएमा मात्र मुलुकमा भ्रष्टाचार अन्त्य भइ सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

    मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नागरिक समस्या समाधानमा कलम चलाउन सञ्चारकर्मीहरुसँग आग्रह गर्नुभयो । पत्रकार महासङ्घका मोरङ अध्यक्ष सुशीला पाठक,  महासङ्घ कोशीका उपाध्यक्ष कुमोद अधिकारी लगायतले  आफ्ना धारणा राखेका थिए । 

    साधारणसभामा संस्थाको वार्षिक कार्यक्रम, आर्थिक विवरण तथा आगामी दिनको कार्ययोजनामाथि छलफल गरिएको थियो ।