जेठ ६, २०८३ बुधबार

भक्तपुर, ६ जेठः यहाँको भक्तपुर नगरपालिका–४ मङ्गलाछेँस्थित ऐतिहासिक हाडा छेँ पुनर्निमाण सम्पन्न भएको छ । 

लामो समयदेखि जीर्ण रहेको हाडा छेँ भक्तपुर नगरपालिकाको एक करोड ७१ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न गरिएको हो । हाडा छेँको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्नुभयो ।

अध्यक्ष बिजुक्छेँले सम्पदाहरु केवल इतिहाससँग मात्र जोडिएको नभई देशको पर्यटन र अर्थतन्त्रसँग जोडिएको हबताउनुभयो । भक्तपुर नगरपालिकाले यस्ता मौलिक घरहरुलाई आगामी दिनहरुमा पनि मासिन नदिई सम्पदा संरक्षणको रुपमा प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो । 

    बिजुक्छेँले भन्नुभयो, “भक्तपुरको मौलिक संस्कृति, सम्पदा र परम्परालाई जोगाउनु हाम्रो दायित्व हो, भक्तपुरका ऐतिहासिक संरचना, कला, संस्कृति र मौलिक वास्तुकलाकै कारण भक्तपुरका सम्पदाप्रति विदेशी पर्यटक तथा अनुसन्धानकर्ताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ ।”
 
सिकर्मी र डकर्मीहरु ‘सांस्कृतिक गुरु’ हुन् भन्नु उचित हुने बताउँदै अध्यक्ष बिजुक्छेँले उहाँहरुले समाज र देश विकासमा हाम्रो सभ्यता, मौलिक कला र सांस्कृतिक धरोहरका संरक्षणकर्ता र पुस्तान्तरण गर्ने अभियन्ताको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हाडा छेँे केवल भौतिक संरचना मात्र नभई भक्तपुरको सांस्कृतिक गौरव झल्काउने सम्पदा भएको उल्लेख गर्नुभयो । 

भक्तपुरको मौलिक सभ्यता र जीवनशैलीबारे सकारात्मक सन्देश प्रवाहमा हाडा छेँ पुनर्निर्माणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै हाडा छेँको पूर्वतर्फ रहेको भित्तेचित्रको पनि विशेष अर्थ रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ, उपप्रमुख रजनी जोशी, हाडा छेँ पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द दुवाल, दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका पुरातत्व अधिकृत रज्जु हाडालगायतको उपस्थिति थियो । 

भक्तपुर नगरपालिकाले २०५८ सालमा मदनकृष्ण हाडासँग हाडा छेँ खरिद गरी नगरको सम्पदाका रुपमा संरक्षण गर्दै आएको हो ।