टेक्सस, ६ जेठः संयुक्तराज्य अमेरिकाको कोलोराडोमा यही जेठ ८ देखि १० गतेसम्म नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुनेभएको छ ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा हुने सो सम्मेलनमा नेपालसहित विभिन्न देशका करिब १२५ जना साहित्यकार, लेखक तथा पत्रकार सहभागी हुने बताइएको छ ।
अनेसासका महासचिव राजु सिटौलाका अनुसार कोलोराडो राज्यमा रहेका ५० भन्दा बढी स्रष्टा तथा साहित्यप्रेमीहरूको समेत सहभागिता रहने तीन दिने सो सम्मेलनमा साहित्यिक वहस, छलफल, अन्तरक्रिया, काव्य उत्सव, योगाभ्यास, स्रस्टा सम्मानलगायतका कार्यक्रम हुनेछ ।
सम्मेलनको पहिलो दिन ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता नीलम कार्की निहारिका, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र वसन्त बस्नेतबीच बहस आयोजना हुनेछ । यसैगरी स्थापित साहित्यकार तथा लेखकहरूबीच साहित्यका विधामा बहस, छलफल तथा अन्तरक्रिया हुने भएको छ ।
सो सम्मेलनका प्रेस संयोजक रहेका पत्रकार दीर्घराज उपाध्यायले विभिन्न जातजाति, भाषाभाषी तथा समुदायसम्बद्ध स्रस्टाहरूले सांस्कृतिक झाँकीसहित साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
उहाँले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले यसअघिजस्तै प्रवासी भूमि कोलोराडोमा हुन लागेको साहित्य सम्मेलन फलदायी र उपलब्धिमूलक हुने बताउनुभयो ।