सिरहा, ६ जेठ : लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित कृत्रिम पोखरी निर्माण भइसकेको पृष्ठभूमिमा राजदेवी चुरे सामुदायिक वनभित्र पर्ने ढोड्ना खोलाकिनारको १० बिघा क्षेत्रफलमा बृहत् पोखरीको शिलान्यास गरिएको हो ।
स्थानीय जनप्रतिनिधि तथा वातावरणविद्हरूले यस्तो परियोजना चुरे संरक्षण र पर्यापर्यटनका लागि कोसेढुङ्गा सावित हुने दाबी गरेका छन् । लहान नगरपालिका–१५ का वडाध्यक्ष तेजनारायण चौधरीले पोखरी निर्माणपछि चुरे फेदीका लाग्राहा र आसपासका किसानले राहत पाउने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “यस वडामा बन्ने नयाँ पोखरीले चुरे फेदीका लाग्राहा र आसपासका करिब पाँच सय बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ, जसले किसानको उत्पादकत्व बढाउन प्रत्यक्ष मद्दत पुग्नेछ ।” पोखरी निर्माणपछि पर्यापर्यटनसँगै कृषि क्षेत्रमा समेत सहयोग पुग्ने उहाँको विश्वास छ ।
त्यस्तै, वातावरणविद् दिनेश यादवले पुराना आहाल र पोखरी मासिएका कारण चुरेमा पानीको मुहान सुक्दै गएको उल्लेख गर्दै यस कृत्रिम पोखरीले ‘वाटर रिचार्ज’ को मुख्य काम गर्ने दाबी गर्नुभयो । “जलवायु परिवर्तनको असरले चुरे आसपासका बस्तीमा पानीको सङ्कट भयावह बन्दैछ । पोखरीहरूले जमिनमा पानी रिचार्जको मुख्य काम गर्छन् । तर, पुराना आहाल र पोखरी नै मासिएपछि जमिन रिचार्ज हुन नपाएर पानीका मूल बर्सेनि सुक्दै गएका हुन् । बर्खाको पानीलाई यस्ता कृत्रिम पोखरीमा जम्मा गरी वरिपरिको जमिनलाई चिस्यानयुक्त बनाइराख्न यो परियोजनाले ठूलो मद्दत पुर्याउनेछ”, यादवले भन्नुभयो ।
केयर नेपालका कार्यक्रम व्यवस्थापक जगदीश भट्टले पनि वन क्षेत्रभित्र बन्ने यस्ता पोखरीले वन्यजन्तुको तिर्खा मेटाउनुका साथै जैविक विविधता र माछापालनमा समेत बहुआयामिक फाइदा पुर्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता बहुउद्देश्यीय कृत्रिम पोखरी निर्माणले जैविक विविधताको संरक्षण, पर्यापर्यटनको प्रवर्द्धन, स्थानीयको जीविकोपार्जन र माछापालनमा सहयोग पुग्छ । यसका साथै स्थानीय किसानलाई सिँचाइको व्यवस्था हुनुका साथै जमिनमुनिको पानीको सतह बढाउन ‘वाटर रिचार्ज’को कामसमेत हुनेछ ।”
लहान नगरपालिकाको समन्वयमा केयर नेपाल, फेकोफन र राष्ट्रिय कृषक समूह महासङघको संयुक्त ‘संरक्षण परियोजना’ अन्तर्गत रु १० लाख ५१ हजारको आर्थिक सहयोग र नगरपालिकाको प्राविधिक सहयोगमा यो पोखरी आगामी एक महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
लहान नगरपालिकाले चुरे क्षेत्रको पर्यावरण र सुक्दै गएका पानीका मुहान जोगाउने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ । चुरे क्षेत्रको संरक्षण र स्थानीयको जीवनस्तर सुधारका लागि एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गर्दै लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीले भन्नुभयो, “चुरे संरक्षण हाम्रा लागि जीवनमरणको सवाल बनेको छ । वनक्षेत्रमा पानीको सङ्कट हुँदा पर्यावरणमात्र होइन, तल्लो तटीय क्षेत्रको कृषिसमेत सङ्कटमा पर्छ । त्यसैले विभिन्न साझेदार संस्थाहरूसँग समन्वय गरेर हामीले चुरे क्षेत्रमा कृत्रिम पोखरी निर्माणलाई अभियानकै रूपमा अघि बढाएका छौँ । नगरपालिका यसको दिगो व्यवस्थापनका लागि सधैँ प्रतिबद्ध छ ।”