वीरगन्ज (पर्सा), ६ जेठ ः तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भएको जनाएको छ ।
तथ्याङ्क समन्वय कार्यालय वीरगन्जका प्रमुख पुष्कर बिजुक्छेँले पर्साका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्याङ्क गणकलाई उपलब्ध नगराएको दाबी गर्नुभएको छ । “पर्साका ठूला औद्योगिक प्रतिष्ठानमा पत्रसहित पुगेका आर्थिक गणनाको गणकहरूलाई खटाएका छौँ । तर, त्यहाँबाट आवश्यक पर्ने तथ्याङ्क पनि पाउन समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “यही जेठ ७ गते हुने समीक्षा बैठकमा तथ्याङ्क उपलब्ध नगराउने औद्योगिक प्रतिष्ठानहरूको सूचीका बारेमा छलफल गर्ने तयारी रहेको छ ।”
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले राज्यले गर्न खोजेको आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क दिन उद्योगी–व्यवसायी तयार रहेको पनि दाबी गर्नुभयो । “कुनकुन औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्याङ्क दिएनन् भन्ने विषयमा कार्यालयले हामीसँग समन्वय गरेको छैन”, उहाँले भन्नुभयो, “सम्बन्धित कार्यालयले सङ्घलाई अनुरोध गरेको खण्डमा सङ्घले औद्योगिक प्रतिष्ठानहरूलाई पत्र लेखेरै भए पनि आर्थिक गणनामा सहभागी हुनका लागि अनुरोध गर्न र समन्वय गर्न हामी हरदम तयार रहेका छौँ ।”
पर्सामा तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्सा जिल्लाभरिमा २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेकामा सोमबारसम्म भने १४ हजार १५६ वटा प्रतिष्ठानमा आर्थिक गणना सकिएको जनाएको छ । अहिले आर्थिक गणनाका लागि ६६ जना गणक र नौ जना सुपरीवेक्षक खटिएको कार्यालयले जनाएको छ ।