कौरू, ५ जेठ : पृथ्वीमाथि पर्ने सौर्य आँधीको प्रभावबारे गहिरो अध्ययन गर्न युरोपेली सङ्घ (इयु) र चीनले संयुक्त रूपमा विकास गरेको ‘स्माइल’ अन्तरिक्ष यान मङ्गलबार सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको छ । सूर्यबाट निस्कने तीव्र हावा र प्लाज्माको विशाल विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा ठोक्किँदा के हुन्छ भन्ने बुझ्न यो महत्त्वाकांक्षी वैज्ञानिक अभियान सुरु गरिएको हो ।
विशेषज्ञहरूका अनुसार शक्तिशाली सौर्य आँधीले पृथ्वी वरिपरिका उपग्रह प्रणाली, सञ्चार सञ्जाल, अन्तरिक्ष स्टेशन तथा अन्तरिक्ष यात्रीहरूलाई गम्भीर असर पु¥याउन सक्छ । यस्तै घटनाकै कारण उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा आकाशमा देखिने चम्किला अरोरा अर्थात् ‘नर्दन लाइट्स’ र ‘सदर्न लाइट्स’ सिर्जना हुने गर्छन् ।
यही रहस्यमय अन्तरिक्षीय मौसमबारे थप जानकारी सङ्कलन गर्न ‘स्माइल’ नामक अन्तरिक्ष यानलाई पृथ्वीको चुम्बकीय क्षेत्रको पहिलो एक्स–रे अवलोकन गर्ने जिम्मेवारी दिइएको छ ।
‘स्माइल’ अर्थात् ‘सोलार विन्ड म्याग्नेटोस्फेयर आयनोस्फेयर लिङ्क एक्सप्लोरर’ नाम दिइएको यो मिसन युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) र चिनियाँ विज्ञान प्रतिष्ठानबीचको संयुक्त परियोजना हो ।
अन्तरिक्ष यानलाई मङ्गलबार ग्रिनविच समयअनुसार बिहान ०३ः५२ बजे दक्षिण अमेरिकाको उत्तरपूर्वी तटमा रहेको फ्रान्सेली गुयानाको कौरूस्थित युरोपको स्पेसपोर्टबाट भेगा–सी रकेटमार्फत प्रक्षेपण गरिएको थियो ।
उडानको करिब ५५ मिनेटपछि अन्तरिक्ष यान रकेटबाट सफलतापूर्वक अलग भएको थियो । त्यसपछि यो पृथ्वी वरिपरि अत्यन्त अण्डाकार कक्षामा प्रवेश गर्दै आफ्नो निर्धारित यात्रातर्फ अघि बढेको जनाइएको छ ।
मिसनका अनुसार ‘स्माइल’ दक्षिणी ध्रुवमाथि पुग्दा पृथ्वीको सतहबाट करिब पाँच हजार किलोमिटर उचाइमा रहनेछ । त्यस क्रममा यसले अन्टार्कटिकास्थित बर्नार्डो ओ’हिगिन्स अनुसन्धान केन्द्रमा डाटा पठाउनेछ ।
त्यसैगरी उत्तरी ध्रुवतर्फ पुग्दा यो पृथ्वीबाट करिब एक लाख २१ हजार किलोमिटर माथि रहनेछ । इएसएका अनुसार यस किसिमको कक्षाले पहिलोपटक लगातार ४५ घण्टासम्म उत्तरी ध्रुवीय अरोराको अवलोकन सम्भव बनाउनेछ ।
सौर्य हावा सूर्यबाट निरन्तर बाहिरिने ऊर्जा र सूक्ष्म कणहरूको तीव्र प्रवाह हो । कहिलेकाहीँ सूर्यमा हुने शक्तिशाली विस्फोट, जसलाई ‘कोरोनल मास इजेक्सन’ भनिन्छ, ले यही हावालाई विशाल सौर्य आँधीमा रूपान्तरण गर्छ ।
यी विस्फोटहरू प्रतिघण्टा करिब २० लाख किलोमिटरको गतिमा अन्तरिक्षमा फैलिन्छन् र पृथ्वीसम्म आइपुग्न एकदेखि दुई दिन लाग्न सक्छ ।
यस्ता सौर्य आँधी पृथ्वीमा आइपुग्दा पृथ्वीको चुम्बकीय क्षेत्रले ढालझैँ काम गर्दै सूर्यबाट आएका अधिकांश कणलाई रोकिदिन्छ । तर अत्यधिक शक्तिशाली आँधीका बेला केही कण पृथ्वीको वायुमण्डलभित्र प्रवेश गर्न सक्छन् ।
वैज्ञानिकहरूका अनुसार त्यस्ता घटनाले विद्युत् प्रसारण प्रणाली, सञ्चार नेटवर्क तथा उपग्रह सेवामा गम्भीर अवरोध ल्याउन सक्छ । अहिले पृथ्वी वरिपरि घुमिरहेका सयौँ उपग्रह र अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्ष यात्रीहरू पनि सौर्य आँधीको जोखिममा पर्ने गरेका छन् ।
इतिहासकै सबैभन्दा शक्तिशाली भू–चुम्बकीय आँधी सन् १८५९ मा रेकर्ड गरिएको थियो । त्यस बेला अरोरा दक्षिणमा पानामासम्म देखिएको थियो भने विश्वभरका टेलिग्राफ अपरेटरहरूले विद्युतीय झट्का महसुस गरेका थिए ।
यिनै सम्भावित जोखिमका कारण वैज्ञानिक समुदाय अन्तरिक्षीय मौसमको अझ गहिरो अध्ययन गर्न चाहन्छ, जसबाट भविष्यमा आउने ठूला सौर्य विस्फोटको पूर्वानुमान गर्न र पृथ्वीलाई सम्भावित क्षतिबाट जोगाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
यस अभियानअन्तर्गत ‘स्माइल’ ले सूर्यबाट आएका ऊर्जा बोकेका सूक्ष्म कण र पृथ्वीको माथिल्लो वायुमण्डलमा रहेका तटस्थ कणबीचको अन्तक्र्रियाबाट निस्कने एक्स–रे सङ्केत पत्ता लगाउनेछ । वैज्ञानिकहरूले ती डाटामार्फत पृथ्वीको चुम्बकीय क्षेत्रले सौर्य आँधीसँग कसरी प्रतिक्रिया जनाउँछ भन्ने अध्ययन गर्नेछन् ।
अन्तरिक्ष यानले कक्षामा स्थापित भएको करिब एक घण्टापछि नै डाटा सङ्कलन सुरु गर्ने अपेक्षा गरिएको छ । प्रारम्भिक रूपमा यो मिसन तीन वर्षका लागि तय गरिएको भए पनि सबै प्रणाली सफलतापूर्वक सञ्चालन भए अवधि थप लम्ब्याउन सकिने जनाइएको छ ।
यसअघि यो प्रक्षेपण अप्रिल ९ मा गर्ने तयारी गरिएको थियो । तर प्राविधिक समस्याका कारण अन्तिम समयमा उडान स्थगित गरिएको थियो ।