चन्द्रकला भण्डारी
झापा, ५ जेठः भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका पाडापाडीको लस्कर छ । कतारको मरुभूमिमा ११ वर्ष पसिना बगाएर फर्किनुभएका उहाँ अहिले स्वदेशमै सफल उद्यमीका रूपमा चिनिनुभएको छ । सुखद भविष्य खोज्दै २२ वर्षको उमेरमा कतार पुग्नुभएका अर्जुन घर फर्कंदा उहाँका बुबाले विदेश अब नजान सुझाव दिनुभएको थियो । “घरबाट छुट्टिएपछि बुबाले दुई बिघा जग्गा गरिखान भनेर दिनुभयो”, उहाँ सम्झिनुहुन्छ, “अब विदेश नजा, भैँसी पालिस भने तेरो भविष्य राम्रो हुन्छ भन्नुभयो । अनि बुबाकै आज्ञापालन गरेर म भैँसीपालन व्यवसायमा लागेको हुँ ।”
विसं २०७६ मा मुलुक कोरोना महामारीको चपेटामा रहेका बेला उहाँले आँट गरेर यो व्यवसाय सुरु गर्नुभएको थियो । गाउँभरिका युवा कि विदेश गइरहेको कि घुमेरै समय बिताइरहेका बेला अर्जुनले विदेशबाट अनुभवसहित फर्केर फरक बाटो रोज्नुभएको थियो । उहाँले पशुपालन गर्ने दृढ सोचका साथ ‘सुवेदी कृषि फार्म’ दर्ता गराउनुभयो । कृषि विकास बैंकबाट रु ५७ लाख ऋण लिएर ६४ वटा मुर्रा जातको पाडापाडीबाट सुरु भएको यो व्यावसायिक यात्रा अहिले विशाल रूपमा फैलिएको छ । भैँसीसँगै उहाँले बाख्रापालन र तरकारीखेतीलाई पनि अगाडि बढाउनुभएको छ ।
अर्जुनको यो व्यवसायमा परिवारको दर्बिलो साथ छ । पत्नी दुर्गा सुवेदी र १६ वर्षीय छोरा बिहान सुवेदीले गोठको काममा उहाँलाई सघाउँदै आउनुभएको छ । उहाँकी पत्नी दुर्गा चार वर्ष वैदेशिक रोजगारीको क्रममा कतार बस्नुभएको थियो । दुर्गालाई पनि परिवारमै बसेर रमाउँदै स्वदेशमै उद्यम गर्न तीव्र इच्छा थियो । बुबाको व्यवसायलाई प्राविधिक रूपमा सघाउन छोरा बिहान भेटेरिनरी विज्ञान अध्ययन गरिरहेका छन् । छोरी विनिता उच्च शिक्षाका लागि जापानमा छिन् । छोरीलाई विदेशमा पढाउने खर्चको जोहो गर्न पनि यही भैँसीपालनबाट टेवा पुगेको अर्जुन सुबेदी बताउनुहुन्छ ।
भद्रपुर–१ पृथ्वीनगरस्थित आफ्नै घरमा १५० वटा भैँसी अट्ने आधुनिक स्थायी गोठ छ । गोठ निर्माणमा रु २६ लाख लगानी भएको उहाँले जानकारी दिनुभयो । उहाँको व्यवसायले स्थानीयलाई रोजगारीसमेत दिएको छ । बगर खेतमा लगाएको आलु, काउली र मकैखेतीले उहाँको आम्दानीमा थप टेवा पु¥याएको छ । भैँसीसँगै उहाँले २५ माउ बाखा पनि पाल्नुभएको छ । भैँसीपालनमा मात्रै लगभग रु ७० लाख लगानी भइसकेको उहाँले जानकारी दिनुभयो ।
उहाँको गाउँतिर थ्रेसरमा धान दाइँ गरेपछि पराल खेतमै छाड्ने र डढाउने चलन छ । उहाँले त्यसरी खेतमा फालिएका पराल सङ्कलन गरेर राख्ने गर्नुभयो, जसले भैँसीलाई हरियो घाँसमा मिसाएर पराल खुवाउन सहज भयो । उहाँका बुबा आसाम र इलाममा छँदा भैँसीपालन गर्नु हुँदोरहेछ । भैँसीपालन गरेरै बुबाले पनि झापामा जग्गा जोड्नुभएको उहाँले बताउनुभयो ।
भैँसी पाल्दा चरन र घाँस उत्पादनका लागि उहाँले १३ बिघा बगर खेत भाडामा लिनुभएको छ । चरनमै अस्थायी गोठ बनाउनुभएको छ । भैँसीलाई चरनमा गोठालो गर्न कामदारहरु राख्नुभएको छ । भैँसी र बाख्रापालनबाट प्राप्त हुने आम्दानीबाट उहाँ सन्तुष्ट हुनुहुन्छ । कतारमा रहँदा उहाँ मासिक रु. डेढ लाख कमाइ गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “स्वदेशमै बसेर भैँसी पाल्दा पनि त्योभन्दा चाहिँ कम कमाइ छैन ।”
सिराहा र सप्तरीबाट साना पाडापाडी किनेर ल्याउने र बढीमा तीन वर्ष पालेपछि बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले दूध उत्पादनका लागि भैँसी पाल्नुभएको होइन । मासुका लागि राँगा किन्न गोठमै व्यापारी आउने गरेको उहाँले बताउनुभयो । राँगा मात्रै होइन, ब्याउने भइसकेका पाडी धेरै दाममा बिक्री हुने गरेको छ ।
उहाँले पालेका ११० वटा भैँसीका पाडा र २३० वटा बाख्राका पाठी कचनकबल गाउँपालिकाले एकै खेपमा किनेर लगे । उहाँसँग किनिएका पाडा र पाठीहरु कचनकबल गाउँपालिकाले आफ्नो पालिकाका किसानहरुलाई वितरण गरेको थियो । कनकाई नगरपालिकाले पनि १३० वटा बाख्राका पाठी किनेर लगेको र किसानलाई वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
सुरुका वर्षहरुमा धेरै सङ्ख्यामा भैँसीका पाडापाडी र बाख्रा पाल्नु भए तापनि अहिले बाख्राको सङ्ख्या घटाउनु भएको छ । भैँसी चाहिँ हुर्काउँदै बेच्दै गर्नुभएको छ । भैँसीपालनबाट खरिदको तुलनामा तेब्बरसम्म मुनाफा हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले लहानतिर एउटा पाडा वा पाडी रु २० हजारमा किन्नुहुन्छ । तीन वर्ष पालेपछि ती पाडापाडी रु ८० हजारदेखि रु डेढ लाखसम्ममा गोठबाटै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । ब्याउने पाडी रु डेढ लाखसम्ममा र मासुका लागि पालिएको पाडा रु ८० हजारदेखि एक लाखसम्ममा बिक्री हुने गरेको रहेछ । “दसैँ र रमदान चाडका बेला एकैखेपमा धेरै पाडा बिक्री हुन्छन्”, उहाँले भन्नुभयो, “मासुका लागि भैँसीका पाडाको बजारमा उच्च माग छ । भद्रपुर वरपरकै मासु व्यवसायीको माग नै धान्न सकिएको छैन । बिक्रीको अहिले कुनै समस्या छैन ।”
भद्रपुर नगरपालिका–३ का हेमकुमार कार्कीले सञ्चालन गर्नुभएको मासु पसलमा हप्तैपिच्छे चार वटा पाडा जाने गरेको उहाँले बताउनुभयो । बिहे, उत्सव र चाडहरुमा भैँसीको पाडा किन्न गाउँबाट आउनेहरु धेरै हुने गरेका छन् । उहाँले भैँसीपालनसँगै बीउका लागि चार वटा साँढेगोरु पनि पाल्नुभएको छ । साँढेगोरुबाट मासिक रु ५० हजार आम्दानी हुने गरेको बताउनुभयो । गोबर मल प्रतिट्याक्टर रु पाँच हजारका दरले बिक्री हुने गरेको छ । चिया बगानका सञ्चालकहरुले गोबर मल किनेर लैजाने गरेका छन् ।
चरन र घाँसका लागि भाडामा लिएको १३ बिघा खेतको केही हिस्सामा तरकारी र अन्न बाली लगाउँदा आम्दानी बढ्ने गरेको छ । यसपालि पाँच बिघा जमिनमा आलुखेती र तीन बिघा खेतमा बन्दाकोपी खेती गरेर मनग्य आम्दानी लिएको उहाँले बताउनुभयो । भैँसीपालनबाट घर व्यवहार राम्रो चलेको र छोराछोरीको पढाइमा सहयोग पुगेको उहाँले बताउनुभयो । भैँसीपालन सुरु गर्दा चिनेजानेका साथी र आफन्तले पनि नाक खुम्च्याउने गरेको तर अहिले प्रगति देखेर सोधखोज गर्ने गरेको सुवेदीले बताउनुभयो ।
गाउँमा यति ठूलो क्रान्तिकारी व्यवसाय सञ्चालन गर्दै आए तापनि हालसम्म उहाँले सरकारी प्रोत्साहन भने पाउनुभएको छैन । तीनै तहको सरकारबाट कुनै पनि अनुदान नपाएको उहाँले बताउनुभयो । व्यक्तिगत पहलमा यति ठूलो कृषि व्यवसाय सञ्चालन गरिरहे तापनि उहाँको फर्ममा हेर्न सरकारी निकायका पदाधिकारीहरु पुग्ने गरेका छैनन् ।
आधुनिक तरिकाले कृषि व्यवसाय गर्ने हो भने विदेशतिर लर्को लागिरहेको युवा शक्तिलाई स्वदेशमै टिकाउन सकिने उहाँ बताउनुुहुन्छ । धेरै आम्दानी गर्न सकिन्छ भनेर बुझाउनु नसक्दा युवाहरु विदेश पलायन भइरहेको उहाँको भनाइ छ । “महिनाको रु ५० हजार कमाउन विदेशमा कडा परिश्रम गर्न गइरहनु पर्दैन”, उहाँ भन्नुहुन्छ, “बाबुबाजेले पालेकोजस्तो निर्वाहमुखी कृषिबाट चाहीँ हुँदैन । तर आधुनिक ढङ्गले व्यावसायिक बन्ने हो भने भैँसी पालेरै मासिक डेढ दुई लाख कमाइ गर्न कुनै गाह्रो छैन ।”
उहाँ भैँसीपालन व्यवसायलाई निरन्तरता दिने पक्षमा हुनुहुन्छ । सरकारी अनुदान र प्रोत्साहन नपाए तापनि आफ्नो कुनै गुनासो नरहेको उहाँले बताउनुभयो । सुरुको ऋण घटाएको र भविष्यमा चुक्ता गरेर आफ्नै पुँजीमा व्यवसाय विस्तार गर्ने सोच रहेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “स्वरोजगार बन्ने र स्वदेशमै उद्यम गर्ने सोचले मलाई भैँसीपालनमा डोहो¥याएको हो । आजका युवाहरुमा यही सोचको अभाव देखेको छु ।”