धनुषाधाम, २ जेठः धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा रु १२ करोड १० लाख २१ हजारको लागतमा १५ शैय्याको अस्पताल निर्माण सुरु भएको छ ।
नगरपालिकाको सदरमुकाम वडा नम्बर ५ महेन्द्रनगरमा अस्पताल निर्माणका लागि शुक्रबार नगर प्रमुख सुखदेव यादव र उपप्रमुख रचना श्रेष्ठ माथेमाले संयुक्त रूपमा शिलान्यास गर्नुभयो । अस्पताल निर्माण गर्न २०८२ चैतमा सम्झौता भएको थियो । निर्माण कार्य २०८४ चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
शिलान्यास गर्दै नगर प्रमुख यादवले नगरवासीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण सुरु गरिएको बताउनुभयो । सामान्य उपचारका लागि पनि नगरवासी टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यसहित स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।
यस्तै उपप्रमुख माथेमाले अस्पताल निर्माणपछि स्थानीय नागरिकले आधुनिक तथा प्रभावकारी स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्माण कम्पनीलाई तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो । अस्पताल निर्माणका लागि सङ्घीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले रु १८ करोड उपलब्ध गराएको हो ।