बैशाख ३१, २०८३ बिहिबार

काठमाडौँ, ३१ वैशाखः गृहसचिव राजकुमार श्रेष्ठले प्राकृतिक विपद्मा परेकाहरूको उद्धारमा सशस्त्र प्रहरीले निर्वाह गरिरहेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

    मनाङको ङिस्याङ गाउँपालिका-४, हुम्डेस्थित तीन हजार ४२० मिटर उचाइमा अवस्थित सशस्त्र प्रहरी बल नेपाल, पर्वतीय उद्धार तालिम शिक्षालयको उद्घाटन तथा शिक्षालयमा सञ्चालित सिसं-२ उच्च भूभाग खोज तथा उद्धार तालिमको आज समापन गर्दै उहाँले सशस्त्र प्रशरीको ज्ञान, त्याग र साहसको प्रशंसा गर्दै उच्च भू-भागमा खोज तथा जोखिमपूर्ण उद्धारका कामले जोखिममा परेकालाई सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । 

    गृहसचिव श्रेष्ठले अकस्मात् आउनसक्ने विपद्को उद्धार कार्यमा सीमित स्रोतसाधनको बाबजुत पनि सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनका क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र स्रोतसाधन सम्पन्न बनाउन मन्त्रालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

    कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरीले राष्ट्रको भरोसायोग्य सुरक्षा सङ्गठनका रूपमा आफूलाई स्थापित गर्दै आइरहेको उल्लेख गर्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा आकस्मिक घटना तथा चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न खोज तथा उद्धारका लागि दक्ष र साहसी जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालयको स्थापना गरिएको बताउनुभयो ।
    
    उहाँले पर्वतीय उद्धार क्षमता केबल सुरक्षा व्यवस्थाको विषय मात्र नभई नेपालको राष्ट्रिय प्रतिष्ठा, पर्यटन प्रवद्र्धन तथा अन्तरराष्ट्रिय विश्वास तथा मानवीय उत्तरदायित्वसँग प्रत्यक्ष रूपमा जोडिने भएको हुँदा ज्ञान र सीपलाई व्यवहारमा उतारी उच्च हिमाली तथा दुर्गम क्षेत्रमा जीवनरक्षाको कार्यमा परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । 
    
    महानिरीक्षक पौडेलले शिक्षालयको थप सुदृढीकरणका लागि आवश्यक भौतिक पूर्वाधार, आधुनिक उद्धार उपकरण तथा स्रोतसाधन, बस्दोबस्ती सम्बन्धमा आपतकालीन व्यवस्था तथा उद्धार कार्यका लागि हेलिकप्टर र कठिन प्राकृतिक विपद्मा आइपर्ने जोखिममा उद्धारका लागि खटिने कर्मचारीको मनोबल उच्च राख्न जोखिम भत्ताको व्यवस्था भएमा उच्च हिमाली क्षेत्रमा उद्धार कार्य अझ प्रभावकारी हुने बताउनुभयो ।

    उच्च भू-भाग खोज तथा उद्धार तालिमका चार जना प्रशिक्षक तथा १८ प्रशिक्षार्थीले यही वैशाख २९ गते छ हजार ३८ मिटर अग्लो चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका थिए । 

    यसअघि विसं २०८२ असोज २५ गते सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेलको कमाण्डमा पहिलोपटक सात जनाले चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका थिए भने २०८२ असोज ९ गते सशस्त्र प्रहरी नायब उपरीक्षक जोगेन्द्र केसीको कमाण्डमा २१ जनाले सफल आरोहण गरेका थिए ।     

    कार्यक्रममा ङिस्याङ गाउँपालिकाका अध्यक्ष, गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक, मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, शिक्षालयका समादेशकलगायत सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानको उपस्थिति थियो । 

    विसं २०७७ मा जिल्ला सदरमुकाममा स्थापना भई २०७८ साल वैशाखदेखि ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डेमा शिक्षालय स्थानान्तरण भएको हो । हालसम्म ७५ जनाले उच्च भू-भाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले उच्च भू-भाग खोज तथा उद्धार एड्भान्स तालिम र १२० जनाले रोप रेस्क्यु तालिम प्राप्त गरेका छन् ।

    शिक्षालयमा सञ्चालन भएका विभिन्न तालिम तथा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा गत कात्तिक महिनामा हिउँमा फसेका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार, भारी हिमपातमा फसेका एक हजार ५०० नागरिकको सकुशल उद्धारलगायत अवरुद्ध सडक पुनःसञ्चालन, अलपत्र परेका तथा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार गर्नुका साथै लेक लागेका स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरेका छन् ।