खोटाङ, ३१ वैशाखः रावाबेँसी गाउँपालिकाले सुविधा सम्पन्न पक्की प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाको केन्द्र कुभिण्डेस्थित हरमटारका स्थानीयद्वारा निःशुल्क उपलब्ध भएको पाँच रोपनी आठ आना जग्गामा निर्माण गरिएको साढे चारतले प्रशासनिक पक्की भवनमार्फत गाउँपालिकाले आजदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको हो ।
सङ्घीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले जानकारी दिनुभयो । “यसअघि यहाँ ट्रस भवन निर्माण गरेर प्रशासनिक काम गरिरहेका थियौँ । त्यसलाई हटाएर सोही ठाउँमा सुविधा सम्पन्न पक्की भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “सभाहलको साँघुरो कोठामार्फत सेवा प्रवाह गर्दा सेवाग्राहीलाई सास्ती हुँदै आएको थियो । अहिले आफ्नै सुविधा सम्पन्न भवन बनेर सञ्चालनमा आएपछि सहज भएको छ ।”
गाउँपालिकाको उक्त भवन निर्माणका लागि ठेकेदार कम्पनी एसई-धुम-एमकेएस जेभीले ३० महिनाभित्र सक्नेगरी विसं २०८० असोज २१ गते गाउँपालिकासँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले सम्झौतामा तोकिएको समयभन्दा अगाडि आफूले जिम्मा लिएको काम गत चैत २१ गते सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
उक्त भवन निर्माणका लागि गाउँपालिकाले विसं २०८० वैशाख २४ गते रु आठ करोड ४४ लाख ५७ हजार २५५ मा ठेक्का आह्वान गरेको थियो । ठेकेदार कम्पनीले रु पाँच करोड ४८ लाख ४४ हजार ५८० रकममा सम्झौता गरेर प्रशासनिक भवन निर्माण गरेको गाउँपालिकाका सूचना अधिकारी एवं पञ्जीकरण शाखा प्रमुख गिरिराज रानामगरले जानकारी दिनुभयो । भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको चार महिनापछि गाउँपालिकाले विसं २०८० माघ २२ गते औपचारिक रूपमा शिलान्यास गरेको थियो । उहाँका अनुसार महिला/पुरुष छुट्टाछुट्टै शौचालयसहित ३३३ दशमलव १७ वर्गमिटर क्षेत्रफल जमिनमा निर्माण गरिएको प्रशासनिक भवनमा २१ वटा कोठा रहेका छन् ।
नवनिर्मित प्रशासनिक भवनको औपचारिक उद्घाटन गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत दाहालले आज संयुक्त रूपमा रिवन काटेर गर्नुभएको छ । भवन उद्घाटनअघि परम्पराअनुसार शान्ति पूजासमेत गरिएको गाउँपालिकाले जनाएको छ ।
देश सङ्घीय संरचनामा गएसँगै साविको कुभिण्डे, खार्पा, लामीडाँडा, डुम्रेधारापानी, दुवेकोल र हौँचुर गाविसलाई समेटेर छ वटा वडा रहेको एउटा स्थानीय तह (लामीडाँडा गाउँपालिका) घोषणा गरिएको थियो । साविकको छ गाविस समेटेर छुट्टै स्थानीय तह निर्माणका लागि वर्तमान गाउँपालिकाका अध्यक्ष श्रेष्ठसहितको टोलीले विरोध गरेपछि (तत्कालीन नाम लामीडाँडा) लाई परिवर्तन गरी रावाबेँसी बनाइएको थियो ।
रावाबेँसी गाउँपालिका कृषि उत्पादनमा जिल्लाकै सबैभन्दा उर्वर भूमि मानिन्छ । यस गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको सङ्घीय सरकारको राष्ट्रिय गौरवको आयोजना ‘दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना’ निर्माणस्थल छ । हरमटारमा व्यक्तिको घर भाडामा लिएर गाउँपालिका सञ्चालन गरिएको केही समयपश्चात् गाउँपालिकाले स्थानीयबाट निःशुल्क जग्गा प्राप्त गरेपछि ट्रस भवन निर्माण गरी सेवा प्रवाह गर्दै आएको थियो । हरमटारमा यसअघि कर्मचारी निवास, सभाहल र चिस्यान केन्द्रगरी तीन वटा पक्की भवन निर्माण भइसकेका छन् ।