बेरुत (लेबनान), ३१ वैशाख ः दक्षिणी लेबनानका विभिनन क्षेत्रहरूमा भएको इजरायली हवाई आक्रमणमा परी दश जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
नबातीह जिल्लाको अरबसालिम सहरमा इजरायली भएको आक्रमणमा तीन जना बालबालिका र दुई जना महिलासहित छ जनाको मृत्यु भएको र अन्य १२ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।
हारुफ सहरमा भएको अर्को आक्रमणमा एक जना बच्चाको मृत्यु भएको र पाँच जना घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।
रौमाइन सहरमा इजरायली भएको आक्रमणमा दुई जना बालकसहित तीन जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाइएको छ ।
दक्षिणी लेबनानको जिब्किन सहरमा भएको अर्को इजरायली आक्रमणमा चार जना महिलासहित नौ जना घाइते भएको उल्लेख गरिएको छ ।
गत मार्च –२ देखि लेबनानमा जारी इजरायली आक्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या दुई हजार ८९६ पुगेको र आठ हजार ८२४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
इजरायली सेनाले गत अप्रिलमा सुरु भएको युद्धविरामको उल्लङ्घन गर्दै दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ ।