बैशाख २१, २०८३ सोमबार

काठमाडौँ, २१ वैशाख : उपराष्ट्रपति  रामसहाय प्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    आज भएको भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्धका विविध आयाममा विचार–विमर्श भएको थियो । उपराष्ट्रपति यादवले नेपाल–युरोपेली सङ्घबीच सन् १९७४ देखि कायम रहेको सौहार्दपूर्ण एवं मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै नेपालले ईयूसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा, ऊर्जा तथा ग्रामीण विकासका क्षेत्रमा ईयू समर्थित कार्यक्रमहरू नेपालका लागि उपयोगी भएको उल्लेख गर्दै आगामी दिनमा उत्पादनशील क्षेत्रहरूमा सहयोगको दायरा विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

    विशेषगरी कर्णाली प्रदेशमा ईयू सहयोगअन्तर्गत आयोजनाले दुर्गम क्षेत्रका नागरिकलाई लाभान्वित गरेकोमा खुसी व्यक्त गर्दै उपराष्ट्रपति यादवले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयता जस्ता साझा मूल्यमा नेपाल–ईयूको विश्वासलाई जोड दिनुभयो । महामारी, जलवायु परिवर्तनलगायत विश्वव्यापी चुनौतीहरूलाई सामना गर्न बहुपक्षीय सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उहाँले थप सहकार्यका लागि नेपाल तत्पर रहेको बताउनुभयो । 

    उपराष्ट्रपति यादवले सरकारले १०० बुँदे कार्ययोजनामार्फत सुशासन, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेको र तीव्र आर्थिक वृद्धिमा विशेष जोड दिएको जानकारी दिनुभयो । रोजगारी सिर्जना, पूर्वाधार सुधार तथा प्रतिव्यक्त आय वृद्धि गर्ने लक्ष्यसहित पर्यटन, जलविद्युत्, पूर्वाधार तथा सूचना प्रविधिलाई आर्थिक वृद्धिका सम्भावित क्षेत्रका रूपमा पहिचान गरिएको बताउँदै उहाँले यस यात्रामा ईयू नेपालका लागि भरपर्दो साझेदार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल र युरोपबीच सीधा हवाई सम्पर्क स्थापना गरी युरोपेली पर्यटकलाई स्वागत गर्ने नेपाल सरकारको चाहना रहेको उल्लेख गर्दै उहाँले युरोपमा नेपालका वायुसेवामाथि लगाइएको प्रतिबन्ध हटाउन रचनात्मक सहयोगको आवश्यकता औंल्याउनुभयो । अन्त्यमा उपराष्ट्रपति यादवले आगामी ‘युरोप–डे’ को अवसरमा युरोपेली सङ्घका सदस्य राष्ट्रका जनताको सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभयो ।

    राजदूत लोरेन्जोले नेपाल–ईयू सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भारतको नयाँ दिल्लीस्थित ईयू अन्तर्गतका २२ मुलुकका राजदूतहरुले मे २५–२६ सम्म नेपालको भ्रमण गर्ने जानकारी दिनुभयो । उहाँले ईयू–नेपाल बिजनेस फोरमको आयोजना गर्ने तयारी भइरहेको समेत बताउनुभयो ।