काठमाडौँ, १९ वैशाखः जिल्ला समन्वय समिति (जिसस) लाई साधनस्रोत सम्पन्न र स्पष्ट जिम्मेवारी दिइनुपर्नेमा माग गरिएको छ । जिल्ला समन्वय समिति महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरूले समन्वय समितिबारे संविधानमा व्यवस्था गरिए पनि स्पष्ट काम, कर्तव्य र अधिकारको व्यवस्था तथा साधनस्रोत सम्पन्न नहुँदा कार्यसम्पादनमा समस्या भन्दै प्रष्ट व्यवस्था गर्न माग गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समन्वय समितिसम्बन्धी व्यवस्थालाई थप प्रष्ट पारेर जाने गरी संवैधानिक सुधार एवं कानुनी व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँले हाल संविधानज संशोधनको विषयबारे चर्चा सुरु भएको उल्लेख गर्दै समन्वय समन्वय समितिलगायत विषयमा थप प्रष्ट व्यवस्था गरिनुपर्ने र त्यसका लागि आफ्नो पार्टीले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कांग्रेस महामन्त्री गुरुराज घिमिरेले संविधान एवं कानुनमा समन्वय समिति राख्ने तर अधिकार एवं साधनस्रोत नदिने विषय राम्रो नभएको बताउनुभयो । उहाँले स्थानीय तहबाट सम्पादन हुने कामबारे अनुगमन गर्ने र गलत कार्य भएमा रोक्न सक्ने गरी समितिलाई सशक्त बनाइनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले जिसससम्बन्धी व्यवस्थाबारे विगतमा त्रुटी भएको स्वीकार गर्दै अब सुधार गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । तत्कालीन जिल्ला विकास समिति महासङ्घका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाले जिससको आवश्यकता अझै रहेकाले आवश्यक कानुनी सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको समूह छलफलमा संविधानविद् काशीराज दाहाल, पूर्वसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बास्कोटा र विकास तथा सुशासन अनुसन्धान केन्द्रका अध्यक्ष डा हेमराज लामिछानेले जिससको आवश्यकताबारे चर्चा गर्दै यसलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
जिससलाई साधन स्रोत र जनशक्ति सम्पन्न बनाएर अनुगमन एवं अख्तियारको दुरुपयोग जस्ता विषयमा काम गर्ने अधिकार पनि दिन सकिने उहाँहरूको भनाइ थियो । कार्यक्रममा जिसस महासङ्घका अध्यक्ष राजन मेहता, महासचिव अशोककुमार घिमिरे, जिसस काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी, उपप्रमुख शान्ति पाण्डेलगायतले जिससलाई स्पष्ट जिम्मेवारी तोकेर अधिकारसम्पन्न बनाउन पहल गरिनुपर्ने बताउनुभयो ।