चितवन, १८ वैशाखः नेपाल पत्रकार महासङ्घ चितवन शाखाको २२औँ साधारणसभामा तीनजना पत्रकार पुरस्कृत गरिएको छ । महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले तीन विधामा पुरस्कृत हुनेहरूलाई आज पुरस्कार प्रदान गर्नुभएको हो ।
मैयाँदेवी पत्रकारिता पुरस्कारबाट पत्रकार अनिल ढकाल, बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट दिप्ती विश्वकर्मा र सुजुश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट पूजा ढकाल पुरस्कृत हुनुभएको हो । मैयादेवी पत्रकारिता पुरस्कारको राशि रु ५१ हजार छ भने अन्य दुई पुरस्कारको राशि ११ हजार रहेको छ ।
पुरस्कार वितरणपछि आचार्यले प्रेस स्वतन्त्रताको पक्षमा महासङ्घ निरन्तर लागिरहने बताउनुभयो । सरकारी विज्ञापन निजी मिडियालाई नदिँदा देशभरका मिडिया धराशयी हुने भएकाले यसमा सरकारको ध्यान जानुपर्ने भन्दै उहाँले समग्र पत्रकारहरू पनि आचारसंहिताभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो । पछिल्ला दिनहरूमा पत्रकारिता र सञ्चारमाध्यममाथि नियन्त्रित हुने खालका गतिविधि भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले पत्रकार महासङ्घ, सम्बद्ध सङ्घसंस्था र पत्रकारहरूसँग सहकार्य गरेर काम गर्न महानगर तयार रहेको बताउनुभयो । महासङ्घका अध्यक्ष वसन्त पराजुलीको सभापतित्वमा भएको कार्यक्रमपछिको बन्द सत्रमा सचिव राजेश घिमिरे र कोषाध्यक्ष कृष्ण आचार्यले आफ्ना प्रतिवेदन पेस गर्नुभएको थियो ।