भद्रपुर (झापा), १२ वैशाखः साहित्यकार नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित तेस्रो कृति ‘सन्देश’ आज झापाको धुलाबारीमा लोकार्पण गरिएको छ । त्रिफला राष्ट्रिय पुस्तकालय को ३१औँ स्थापना दिवसको अवसर पारेर आयोजित विशेष कार्यक्रममा उक्त निबन्ध सङ्ग्रह सार्वजनिक गरिएको हो ।
कार्यक्रममा पुस्तकालयका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष प्रेमप्रकाश फलाहारी, प्रमुख अतिथि शिक्षासेवी जयनारायण ढुङ्गाना, शिक्षासेवी हरिचरण बानियाँ, अञ्जना ढुङ्गाना तथा लेखक सिटौलाले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभयो ।
लोकार्पित कृतिमाथि साहित्यकार गोसा झापालीले टिप्पणी गर्दै पुस्तकमा समावेश ४२ वटा शीर्षकमा फरकफरक सन्देश प्रस्तुत गरिएको बताउनुभयो । उहाँका अनुसार कृतिमा कुनै विषय दोहोरिएको छैन र हरेक सन्देशले पाठकलाई फरक दृष्टिकोण प्रदान गर्दछ ।
उहाँले उक्त कृति सबै उमेर समूहका पाठकका लागि उपयोगी रहेको उल्लेख गर्दै विशेषगरी प्रशासक, शिक्षक, पत्रकार तथा राजनीतिक व्यक्तिलाई जिम्मेवारीप्रति सचेत गराउने सन्देश समेटिएको धारणा राख्नुभयो ।
लेखक सिटौलाले आफ्ना जीवनका अनुभव, भोगाइ र अनुभूतिबाट प्राप्त शिक्षा पाठकमाझ सन्देशका रूपमा प्रस्तुत गर्ने उद्देश्यले कृति तयार पारिएको जानकारी दिनुभयो । यसअघि उहाँका ‘मेरो कथाका पानाहरू’ (२०७०) र ‘केही अनुभव र अनुभूति’ (२०८१) प्रकाशन भइसकेका छन् ।