घोराही (दाङ), १२ वैशाखः ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता-२०८३’ मा पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजयी बन्नुभएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा आज घोराहीमा भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपाली सेनाका खेलाडी पहिलो बन्न सफल हुनुभएको हो ।
प्रतियोगितामा पुरुषतर्फ खड्काले निर्धारित १० किलोमिटर दूरी ३० मिनेट ३३ सेकेन्डमा र महिलातर्फ सेनाकै न्यौपानेले ३६ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्न सफल हुनुभयो । पहिलो बन्नुभएका खड्का र न्यौपानेले समान रु ८० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीका रुपेश कार्की ३१ मिनेट १३ सेकेन्डका साथ दोस्रो हुँदा नेपाली सेनाकै उमेश थापा ३१ मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा हुन सफल हुनुभयो ।
महिलातर्फ सेनाकै निर्मला केसीले ३७ मिनेट ४५ सेकेन्डका साथ दोस्रो हुँदा सम्झना गुरुङवान ३९ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान लिन सफल हुनुभएको छ । प्रतियोगितामा द्वितीय र तृतीय स्थान लिने पुरुष तथा महिला खेलाडीलाई जनही रु ४५ हजार र रु २५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका अक्कल पालले ३२ मिनेट दुई सेकेन्डमा दूरी पार गर्दै चौथो हुँदा महिलातर्फ एपिएफकी फूलमाया रानाले ३९ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै चौथो हुन सफल हुनुभयो । चौथो स्थान प्राप्त गर्नुभएका पाल र रानाले नगद रु १५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले खेलकुदको विकास, विस्तार तथा नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।