बैशाख ११, २०८३ शुक्रबार

सिरहा, ११ वैशाख : विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै यहाँको लहान नगरपालिकाले गैरसरकारी संस्था ‘विल्डअन’ नेपालसँगको सहकार्यमा एकैपटक पाँच वटा आधारभूत विद्यालयका भवन निर्माण कार्यलाई तीव्रता दिएको छ । 

    लहान–१५ स्थित राजदेवी आधारभूत विद्यालय र सोभापुरको बाबा सन्यासी आधारभूत विद्यालयमा तीन कोठे भवन तथा दुई कोठे शौचालय निर्माणको विल्डअनकी केन्द्रीय निर्देशक निर्मला चौधरी र लहानका नगरप्रमुख महेशप्रसाद चौधरीद्वारा संयुक्त रूपमा शिलान्यास गरिएको छ । भवन निर्माणका लागि संस्था, नगरपालिका र स्थानीय समुदायबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ ।

    यसअघि गत चैतमा लहानको वडा नं १, २ र ४ को क्रमशः आधारभूत विद्यालय सिंगराही मटियर्वा, भानु आधारभूत विद्यालय र मधेस सहिद विजय सहनी आधारभूत विद्यालय भवनको शिलान्यास भइसकेको छ । विल्डअन नेपालले सन् २०२६ भित्र मधेस प्रदेशमा कूल ४० वटा आधारभूत विद्यालयका भवन निर्माण गर्ने लक्ष्य राखेको छ, जसमा सिराहामा मात्र २० वटा भवन बनाइने योजना छ । 

    ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले भवन निर्माणमा सहयोग गरिएको बताउँदै निर्देशक निर्मला चौधरीले भन्नुभयो, “विद्यालय भवन अभाव, जीर्ण अवस्था र विद्यार्थी सङ्ख्यालाई ध्यानमा राखेर हामीले भवन निर्माणमा सहयोग गर्दै आएका छौँ । लहानबाट यो अभियान सुरु भइसकेको छ र अन्य स्थानमा विद्यालय व्यवस्थापन समिति र प्रशासनसँग छलफल भइरहेको छ ।” 

    उहाँले निर्माण कार्य तीन महिना १६ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको र यी आयोजना सकिएपछि वार्षिक रूपमा थप भवनहरू बनाउँदै लैजाने जानकारी दिनुभयो । भवन निर्माणका लागि प्रतिविद्यालय अनुमानित रु ४९ लाख ९८ हजार रूपैयाँ लागत लाग्नेछ, जसमा संस्थाले रु ३३ लाख ९७ हजार र नगरपालिकाले रु १५ लाख योगदान गर्नेछन् । निर्माण कार्यमा छड, सिमेन्ट र फर्निचरजस्ता सामग्री संस्थाले उपलब्ध गराउनेछ भने स्थानीय तहले बालुवा, गिट्टी र ढुङ्गाको व्यवस्था गर्नेछन् । स्थानीय समुदायको अपनत्व र दिगोपना सुनिश्चित गर्न जनश्रमदानलाई अनिवार्य गरिएको छ । विद्यालय छनोटका लागि न्यूनतम १२० जना विद्यार्थी सङ्ख्या हुनुपर्ने मापदण्ड राखिएको छ ।

    नगरप्रमुख महेशप्रसाद चौधरीले शैक्षिक क्षेत्रमा संस्थाले पु¥याएको योगदानप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारविना गुणस्तरीय शिक्षा सम्भव हुँदैन । यस प्रकारको साझेदारीले शिक्षाको स्तर उकास्न सहयोग पुग्नेछ । नगरपालिकाको तर्फबाट आवश्यक स्रोतसाधन र सहकार्यमा कुनै कमी हुन दिइने छैन ।”

    अमेरिकी अन्तरराष्ट्रिय गैरनाफामूलक संस्था ‘विल्डअन’ ले विकासोन्मुख देशहरूमा विद्यालय पूर्वाधार निर्माण गर्ने आफ्नो अभियानअन्तर्गत हालसम्म नेपालका सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा ४५७ वटा विद्यालय भवन निर्माण गरिसकेको छ भने हाल बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थप १५ वटा भवनहरू निर्माणाधीन रहेका छन् । सन् १९९४ देखि विद्यालय संरचना निर्माण र साक्षरता अभियानमा निरन्तर सक्रिय रहँदै आएको यस संस्थाले समाज कल्याण परिषद्बाट अनिवार्य स्वीकृति लिएर मात्र आफ्नो निर्माण प्रक्रिया अगाडि बढाउने गरेको छ । 

    संस्थाका स्वयंसेवकहरू प्रत्यक्ष रूपमा फिल्डमा खटिएर स्थानीय समुदायसँगको घनिष्ठ सहकार्यमा निर्माण कार्य सम्पन्न गर्ने शैली अपनाउँदै आएको जानकारी गराइएको छ ।