बैशाख ११, २०८३ शुक्रबार

घोडाघोडी (कैलाली), ११ वैशाखः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले  कैलालीको लम्कीचुहा-४ बलियामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमकाबीच उहाँले सेवा कार्यालयको उद्घाटन गर्नुभएको हो । 

    पूर्वी कैलालीका नागरिकलाई आवागमनमा सहजता हुने विश्वास लिइएको छ । जिल्लाको पूर्ववर्ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनका निमित्त बलियामा सेवा कार्यालय स्थापना गरिएको हो । 

    उद्घाटन समारोहमा मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रवाह गर्नका निमित्त प्रदेश सरकार कटिबद्ध भएर लागिरहेको बताउनुभयो । उहाँले यातायात व्यवस्था सेवा कार्यालयको स्थापनासँगै यस क्षेत्रका जनताले राहतको अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो । 

    “जनप्रतिनिधिहरूले जनताले दिएको जनमतको सम्मान गर्दै जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ”, मुख्यमन्त्री शाहले भन्नुभयो, “मुलुकको विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्छ ।” 

    यस क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु एक अर्ब बराबरको  बहुवर्षीय ठेक्का स्रोत सुनिश्चित गरेको मुख्यमन्त्री शाहले जानकारी दिनुभयो । लम्कीचुहा प्रादेशिक अस्पतालका लागि चालु आवमा प्रदेश सरकारले रु चार करोड ५० लाख बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले यस वर्ष सञ्चालनमा आउन नसके रकम ‘फ्रिज’ भएर जाने बताउनुभयो ।

    लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि आवश्यक परे कानुनसम्मत रूपमा लचकता अपनाउन प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहले बताउनुभयो । यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आफू निरन्तर प्रयासरत रहेको भन्दै उहाँले सोहीअनुरूप कानुनी दायराभित्र रही आवश्यक लचकता अपनाइने धारणा राख्नुभयो । 

    टीकापुरमा प्रस्तावित टीकापुर विज्ञान तथा प्राविधिक विश्वविद्यालय निर्माणका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले आधुनिक प्रविधिको युगमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उक्त विश्वविद्यालयले क्षेत्रीय पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    सेवा कार्यालय स्थापनासँगै लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिकालगायत क्षेत्रका जनतालाई सहजता हुनेछ ।

    कार्यालय व्यवस्थापनका लागि स्थानीय झुप्रे रावतले पाँच वर्षका लागि आफ्नो घर निःशुल्क उपलब्ध गराउनुभएको छ । लम्कीचुहा नगरपालिका–४ का वडाध्यक्ष ताराप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा नं ३ का वडाध्यक्ष लवबहादुर शाहीले गर्नुभएको थियो ।