गण्डकी, ११ वैशाखः पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति पनि गरिएको छ ।
सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत स्तरोन्नति भएको सडकको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो ।
निर्माणाधीन तालचोक–बेगनास सडक आयोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न आफू लागिपरेको जानकारी दिँदै उहाँले निर्माण कम्पनीलाई आगामी तीन महिनाभित्र काम पूरा गर्न निर्देशन दिइएको बताउनुभयो ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडकलाई तनहुँ–लमजुङसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्व बैंकसँग रु ४८ करोड ९६ लाख ३५ हजार २५४ ऋण लिएर निर्माण पूरा भएको सडक आयोजनाका इन्जिनियर नवीन गौतमले बताउनुभयो । पन्ध्र मिटर चौडा यो सडक दुई ‘लेन’को छ । यसको किनारमा वर्षाको पानी निकासका निम्ति नाला,साइकल लेन र फुट ‘ट्रयाक’पनि निर्माण गरिएको छ ।