टीकापुर, १ वैशाखः फरक क्षमता (अपाङ्गता) भएका बालबालिका स्याहारमा अभिभावकलाई कठिन हुने गरेको छ । अपाङ्गता भएका बालबालिकालाई स्याहारमा विशेष ध्यान र समय दिनुपर्दा अभिभावकको व्यक्तिगत जीवनमा पनि प्रभाव परेको बताएका छन् ।
टीकापुर नगरपालिका–१ वनगाउँकी जगतमाया शाहीकी छोरी जन्मजातै अपाङ्ग हुनुहुन्छ । १९ वर्षीया छोरी जन्मेदेखि नै हलचल गर्न नसक्ने भएपछि जगतमायाको परिवारले नेपाल र भारतका धेरै अस्पतालमा उपचार गराए । छोरीको देब्रे हात अलिअलि चल्छ, त्यसबाहेक शरीर नचल्ने भएपछि जगतमाया छोरीकै स्याहारमा लाग्नुभएको छ । “म पढेलेखेकी छु, जारिी खान सक्थे तर छोरी स्याहार्नुपर्ने बाध्यताले केही नगरी बसेकी छु”, उहाँ भन्नुहुन्छ, “छोरी शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि अशक्त भएपछि स्याहारसुसारमा समस्या छ । मलाई उनको अवस्था, भविष्यको चिन्ताले साह्रै पीर लाग्छ ।”
जगतमाया आफू हुन्जेल त छोरी सुरक्षित रहेको, आफू नभए कसले स्याहार्ला भन्ने चिन्ता लाग्ने गरेको बताउनुहुन्छ । “दुई कक्षासम्म पढेकी छिन्, सानो हुँदा बोकेर विद्यालय पु¥याएपछि बोक्न गाह्रो हुँदा विद्यालय पढाउन सकिएन”, उहाँ भन्नुहुन्छ, “विद्यालय पनि समावेशी छैनन्, विशेष शिक्षक, विशेष सामग्री र पहुँचयुक्त पूर्वाधार नहुँदा छोरीजस्ता बालबालिकाले शिक्षा पाएका छैनन् ।”
अपाङ्गता भएका बालकको तुलनामा बालिकालाई स्याहार्न कठिन छ । छोरीहरु महिनावारी हुने हुँदा सरसफाईलगायतका काममा अझ समस्या हुने गरेको उहाँको भनाइ छ ।
टीकापुरकै अर्का बालक मनोज विकको समस्या पनि यस्तै छ । तल्लो शरीर नचल्ने यी बालकले कक्षा १२ सम्म पढेका छन् । सानो हुँदा आमाले बोकेर विद्यालय गएका यी बालक जब वयस्क हुँदै गए आमाले विद्यालय लैजान सक्नुभएन । “कक्षा १० पढ्दासम्म आमा र बुबाले पालैपालो विद्यालय लैजानुहुन्थ्यो”, मनोज भन्नुहुन्छ, “त्यसपछि मेरो शारीरिक तौल बढ्दै गयो, मलाई विद्यालय लैजान उनीहरुलाई पनि कठिन हुन थाल्यो”, उहाँले भन्नुभयो, “कक्षा ११, १२ घरमै स्व अध्ययन गरेर परीक्षा दिए, त्यसपछि मैले पढाइ छोडे, त्यसमाथि पढ्ने चाहना छ तर परीक्षालगायतका विभिन्न काममा क्याम्पस जान आउन कठिन छ ।”
अपाङ्गता भएका बालबालिका स्याहार्न अभिभावकलाई कठिन छ । विभिन्न सङ्घसंस्थाको सहयोगमा स्थानीय पालिकाहरुले उपलब्ध गराएका सहायता सामग्रीले अभिभावक र अपाङ्गता भएकालाई केही राहत भने हुने गरेको छ । कैलालीका स्थानीय पालिकाले सङ्घसंस्थाको सहयोगमा अपाङ्गता भएकालाई सहायता सामग्री वितरण गर्दै आएका छन् । सहायता सामग्री धेरै नटिक्ने र लामो समयसम्म प्रयोग गर्दा बिग्रिएमा मर्मत गर्न भने समस्या हुने गरेको छ ।
जोशीपुर ६ लोखरीका टीकाराम डगौरा २१ वर्षको हुनुभयो । टीकाराम वीरेन्द्र विद्या मन्दिर मावि टीकापुरमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । उहाँ भाइसँग टीकापुरमा डेरा भाडामा बसेर पढिरहनु भएको छ । जन्मजात नै तल्लो शरीर नचल्ने समस्या भएका टीकारामले धेरै काम आफैँले गर्नुहुन्छ । टीकारामलाई पनि एकमात्र भएको ह्विलचेयर बिग्रदा मर्मत गर्न, विद्यालय नियमित जान भने समस्या हुन्छ । “संस्थाको सहयोगमा वडा कार्यालयले सहायता सामग्री दिएको हो, यो समय समयमा बिग्रन्छ, यो बिग्रिएमा मलाई विद्यालय जान समस्या हुन्छ”, उहाँले भन्नुभयो, “विद्यालय जाँदा बाटो धेरै अप्ठ्यारो छ । साथीहरुले सहयोग गरेमा मात्र विद्यालयसम्म पुग्न सकिन्छ ।”
टीकापुर नगरपालिकामा एक हजार १९९ जनाले अपाङ्गता परिचयपत्र बनाएका छन् । अपाङ्गता भएकालाई चार वर्गमा विभाजन गरेर परिचयपत्र उपलब्ध गराउने गरेको छ । जसमा क र ख वर्गको परिचयपत्र भएकाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । पालिकामा क वर्गका १२८, ख वर्गका ५८५, ग वर्गका २९२, घ वर्गका १९४ जना नागरिक छन् । पालिकाले २०७६ सालबाट अपाङ्गता परिचय पत्र वितरण थालेको हो ।
पालिकाले अपाङ्गता भएका सहायता सामग्री आवश्यक भएका नागरिकका लागि सङ्घसंस्थासँग समन्वय गरेर उपलब्ध गराउने गरेको छ । पालिकाले यसै वर्ष २५ वर्षमुनिका २९ जना विद्यालय जाने बालबालिकालाई सहायता सामग्री वितरण गरेको महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाह बताउनुहुन्छ । “पालिकाले थप आवश्यक नागरिकलाई पनि सहायता सामग्री वितरणको तयारी गरेको छ”, उहाँ भन्नुहुन्छ, “सहायता सामग्री बाटोघाटोका कारण चाँडै बिग्रने समस्या भइरहन्छ । बिग्रिएमा मर्मतको समस्या भएकाले सामग्री धेरै समय टिकाउ नहुने समस्या छ ।”
उहाँका अनुसार अपाङ्गता भएका बालबालिकामा बालिकाहरु स्याहारमा बढी समस्या रहेको छ । बालिकालाई स्याहारमा परिवारलाई पनि कठिन हुने, छोरीहरुको सुरक्षामा समेत चुनौती रहेको छ । अधिकारकर्मी निर्मला कडायत समाजमा अपाङ्गताबारे सही बुझाइ नहुँदा अभिभावक र बालबालिकाले अपमान झेलिरहेको, हेला गर्ने कार्य रोक्नुपर्ने बताउनुहुन्छ । “सरकारले बालबालिकाको अवस्थाअनुसार सुविधा, उपचारका विकल्पहरु दिनुपर्छ । अभिभावक नभएका अपाङ्ग बालबालिकाको स्याहार सरकारले गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “विद्यालय अपाङ्गमैत्री बनाउनुपर्छ । उनीहरुको घरमै उपचार सेवा दिने, उनीहरुलाई थेरापी वा परामर्शको व्यवस्थासमेत हुनुपर्छ ।”