असोज १३, २०७८ बुधबार

साङ्केतिक तस्बिर

निजामती कर्मचारी (सिभिल) अस्पतालले एकतर्फी रूपमा सेवा सुविधा र करार कार्यविधि ल्याएको भन्दै डक्टर्स एसोसिएशन अफ सिभिल हस्पिटलले हालको सेवा सुविधालाई परिमार्जन गर्न अस्पतालसँग माग गरेको छ । तर, आर्थिक वर्ष ०७८/०८९ को साउन महिनाबाट लागू हुने गरी अस्पताल बोर्डले ल्याएको सेवा सुविधा तथा तलबबारे स्टार्फ नर्सहरूले भने सन्तुष्टि जनाएका छन् ।

१२ वर्षदेखि न्यूनतम् पारिश्रमिकभन्दा ३० प्रतिशत कममा श्रम बेच्न बाध्य भएका नर्सहरूको मुहारमा नयाँ सेवा सुविधासम्बन्धी व्यवस्थाले खुशी छाएको छ । पाँच वर्षदेखि सिभिल अस्पतालमा कार्यरत नर्स मिना ढकालले न्यूनतम् पारिश्रमिकविना बिरामीकोे सेवा गरेको सुनाइन् ।

ढकालले भनिन्, ‘बिरामीको सेवा गर्ने रहरले नै नर्स पेसा त रोजेँ । अस्पतालसँग न्यूनतम् पारिश्रमिकका लागि बारम्बार आवाज उठाउँदासमेत सुनुवाइ भएन, काम गरेअनुसार तलब नपाउँदा निरास थिएँ, असारबाट अस्पतालले ल्याएको सेवा सुविधाप्रति ममात्रै नभएर सबै नर्स खुशी भएका छौँ ।’

सिभिल अस्पतालमा कार्यरत नर्सले तहका आधारमा न्यूनतम् पारिश्रमिकसँगै ५० प्रतिशत भत्ता गत आर्थिक साउनबाट पाउन थालेको अस्पताल प्रसाशनका एक उच्च अधिकारीले बताए ।

कोरोना महामारीका बेला केही अस्पतालले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्तासमेत नदिएको अवस्था छ ।