असोज १२, २०७८ मंगलबार

आज पन्ध्रौं विश्व रेबीज दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । रेबीजलाई घातक रोग मानिन्छ । यो रोग खासगरी कुकुरले टोकेमा फैलन्छ । यसबाहेक बाँदर, बिरालो, गाई, बाख्रा, घोडाहरू बहुलाएका बेला यिनको र्‍यालको सम्पर्कमा आउँदा वा यिनले टोकेमा रोग फैलिन सक्तछ ।

कुकुर र बिरालामा आफैँलाई चाट्ने बानी हुन्छ । अतः यिनको पञ्जाले कोतर्दा पनि रेवीजका विषाणु शरीरमा प्रवेश गर्न सक्तछन् । यदि हाम्रो शरीरको कुनै घाउ वा चोटमा रोगी पशुको र्‍याल खस्यो भने पनि यो रोग फैलिन सक्तछ । आँखा, कान, नाक र मुखमा दूषित र्‍याल पर्नाले पनि यो रोग फैलिन सक्तछ ।

विश्वभरिमा रेबीजबाट मर्नेको सङ्ख्या ६०,००० प्रतिवर्ष हुने गरेको अनुमान छ । रेबीजको खोप लगाउनाले रोगबाट बचाउन सकिन्छ तर रोगको लक्षण देखिएपछि भने उपचार त सम्भव हुँदैन तर मृत्यु भने निश्चित हुन्छ । यसबारे आज सम्मको तथ्य यही छ । रेबीजबारे जानकारी दिँदै यसबाट जोगिन अपनाउनुपर्ने उपायहरूबारे डा. केदार कार्की यस्ता सुझाव दिनुहुन्छ ।

रेबीज रोगको मुख्य कारण

रेबीज लाइसा विषाणुद्वारा हुन्छ । यो विषाणु मुख्यत: रोगी पशु जस्तै : कुकुर, बिरालो, बाँदर, स्याल, फ्याउरो आदिको र्‍यालमा पाइन्छ । रोग प्रसारमा खासगरी कुकुर, स्याल, फ्याउरो, बाँदर, मुसा र लोर्खकेले टोक्नाले हुन्छ । किनकि रेबीजका विषाणु प्राकृतिक रूपमा यिनको शरीरमा पाइन्छन्  । यदि जङ्गली जनावरले यिनको सिकार गर्छन् र खान्छन् भने रोग तिनमा फैलन्छ । यस रोगबाट ग्रस्त गाई-भैँसीको मुखमा हात हाल्दा पनि यो रोग फैलन्छ ।

मानिसमा यस रोगको लक्षण :

टाउको दुख्ने, जीउ दुख्ने, कडा ज्वरो, पानी र हावाबाट तर्सिने, आँखा चिलाउने, घाँटी हल्का सुन्निने, र्‍याल खसाल्ने, खान र पिउन गाह्रो हुने, आवाज बदलिने, तेज रोशनी र तेज आवाजदेखि तर्सिने, चिडाचिडापन हुने र अन्तिम अवस्थामा पक्षघात भई बेहोस हुने । यस रोगबाट ग्रसित व्यक्तिको पाँचदेखि दश दिन भित्र मृत्यु हुने गर्दछ ।

रेबीजबाट ग्रस्त पशुमा लक्षण 

मुख्य रूपमा पशु अथवा कुकुरमा यस रोगको दुई अवस्था हुन्छन् । पहिलो अवस्थामा लक्षण तीव्र हुन्छन् । कुकुर अत्यधिक उत्तेजित रहन्छ, अचानक टोक्न थाल्दछ, काल्पनिक चिजहरूमा भुक्न थाल्दछ, अनि विस्तारै पक्षघात हुन्छ । दोश्रो अवस्थामा कुकुर धेरै शान्त हुन्छ । उसले आफ्नो मालिक तथा अन्य सदस्यलाई चिन्न सक्दैन वा उनीहरूले भनेको मान्दैन । मुखबाट अत्यधिक र्‍याल खस्न थाल्दछ, घाँटीमुनि सुन्निने हुँदा भुक्न सक्दैन तथा खान पिउन अप्ठ्यारो हुन्छ ।

रेबीजबारे आवश्यक जानकारी राख्नु पर्ने कुराहरू

रेबीज एउटा विषाणुबाट फैलिने रोग हो । खोप लगाए बच्न सकिन्छ । मानिसमा रेबीजबाट हुने मृत्युको मुख्य कारणमा कुकुरको टोकाइ रहेको छ । मानिसमा हुने ९९ प्रतिशत रेवीज कुकुरको टोकाइले हुन्छ ।

रेबीजबाट बच्न यी दुई कुराको ध्यान गर्नु आवश्यक छ

कुकुरलाई नियमित रेवीजको खोप लगाउने, कुकुरको टोकाइबाट बच्ने ।

एशिया, अफ्रिकामा हर साल रेबीजबाट हजारौं मानिस मर्दछन् । रेबीजबाट मर्नेमा ४० प्रतिशत केटाकेटी १५ वर्षभन्दा कम उमेरका हुन्छन् । कुकुरले टोक्नेबित्तिकै घाउ सफा पानी तथा साबुनले धुने हो भने ५० प्रतिशतसम्म सुरक्षित हुन सकिन्छ । रेबीजलाई मात्र लक्षण देखाउनबाट रोक्न सकिन्छ तर लागिसकेपछि उपचार सम्भव छैन । घरपालुवा कुकुरलाई उमेर तालिकाअनुसार खोप नलगाए रेबीज हुन सक्छ ।

घरपालुवा कुकुरमा रेबीज व्यवस्थापन

• घरपालुवा कुकुरलाई धेरै बेर एक्लै घुम्न नदिनुस् तथा बाहिर खाना खान नदिनुस् ।
• कुकुरलाई खान दिएर बचेको खाना हटाउनुस् ता कि अरू भुस्याहा कुकुर वा अन्य जङ्गली जनावर सम्पर्कमा नआओस् ।
• यदि जङ्गली जनावर वा भुस्याहा कुकुरको बिगबिगी टोल छिमेकमा देखिए सम्बन्धित स्थानीय तहलाई खबर गर्नुस् ।
• घरको मुलद्वार यस्तो बनाउनुस् तपाईको पाल्तु कुकुर बाहिर जान नपाओस् ।
• केटाकेटीलाई फिरन्ते भुस्याहा कुकुर वा जङ्गली जनावरसँग नजिस्किन शिक्षा दिनुस् ।
• पालेको कुकुरलाई पहिलो खोप ३ महिनाको उमेरमा, त्यसपछि एक वर्षपछि प्रत्येक वर्ष खोप लगाउन नबिर्सनुस् ।


रेबीजको उपचार तथा नियन्त्रण

• शरीरको जुन भागमा कुकुर आदि जनावरले टोकेको छ त्यसलाई कमसेकम पन्ध्र मिनेट सफा पानी र साबुनले धुनु पर्दछ ।
• घाउ धोइसकेपछि त्यसमा स्पिरिट टिन्चर आयोडिन वा भिटामिन लगाउने ।
• घाउलाई खुल्ला राख्नुस्, पट्टी बाँध्नुस् तर टाँका नलगाउनुस् ।
• टोकिसकेपछि तुरुन्तै ०–३–७–१४–२८ दिनमा रेबीजको खाेप लगाउनुस् ।
• विचार गर्नुस्, सावधानी गर्नाले रेबीजबाट बचाउन सकिन्छ र प्राथमिक उपचारबाट रोगीलाई राहत दिन सकिनुका साथै उसलाई बचाउन पनि सकिन्छ ।
• यसो गर्नाले अग्रिम उपचारमा सहयोग मिल्नेछ । त्यसैले भनिन्छ :- रेबीजबाट बच्न सकिन्छ तर बचाउन्न सकिन्न ।