भदौ २७, २०७८ आइतबार

महेश सिंह/लहान/सिरहा २७ भदौ । सिरहाको लहान ३ मा रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य बिमासम्बन्धि सम्पूर्ण सेवा उपलब्ध नभएको सेवाग्राहीहरूको आरोप छ । बिमा गराएका लहानका सलाम अन्सारीले आफ्ना छोरालाई जाँच गराउन जाँदा त्यस्ता सुविधा नपाएको गुनासो पोखे ।

डाक्टरले लेखेको औषधि पुरै नपाउनु र औषधि नपाउनुको कारण अस्पताल कर्मचारीलाई सोध्दा गैरजिम्मेवारपूर्ण तरिकाबाट औषधि सकिएको हुन सक्छ भने जवाफ दिनु कतिको उचित हो भनेर उनले आक्रोस पोखेका थिए ।
नेपाल सरकारद्वारा सञ्चालन भएको स्वास्थ्य बिमा कार्यक्रमबाट सेवाग्राहीहरू असन्तृष्ट भएका छन् । स्वास्थ्य कर्मचारीहरूले घरघरमा गई स्वास्थ्य बिमा गर्ने गरिन्छ ।
यता स्वास्थ्य बिमा गराएकी अर्की सिरहा धनगढीमाई नगरपालिका १ बाखरकी प्रमिलाकुमारी चौधरीको समस्या पनि उस्तै रहेको छ । उनले त झन् रिर्पोट दिनमा पनि ढिला गरेको आरोप लगाइन् । प्राविधिकतर्फका सबै कर्मचारी गफ चुटनमा व्यस्त देखिएको उनले बताइन् ।

अर्का सप्तरी जिल्ला भुसिमहौलियाका सुरेन्द्रप्रसाद चौधरीको गुनासो अर्कैखाले रहेको छ । उनी सुत्केरी बिरामी लिएर आएका थिए । उनले भने "सुत्केरीका लागि कुनै पनि औषधि नि:शुल्क नपाइने रहेछ तर अर्को सरकारी अस्पतालमा सुत्केरीका लागि नि:शुल्क औषधि दिने गरेको छ । यता अस्पताल समितिलाई भेटन जाँदा कुनै पनि पदाधिकारी अस्पतालमा नभएको दु:ख पत्रकारसँग सुनाएका थिए ।