काठमाडौं, भदौ १३ गते । विभिन्न देशमा एकै व्यक्तिमा कोरोना भाइरसका दुई भेरियन्ट फेला पर्दा सङ्क्रमितको स्वास्थ्यमा गम्भीर असर देखिनसक्ने भएकाले वैज्ञानिक र चिकित्सकमा थप चिन्ता बढेको छ । यसले कोभिडको अनुसन्धानमा थप नयाँ चुनौती थपिएसँगै अनुसन्धानको बाटो थप फराकिलो बनेको छ ।
केही दिन पहिले भारतको आसाम राज्यमा एक चिकित्सकमा अल्फा र डेल्टा भरियन्ट फेलापरेको थियो । कोभिडको दुईवटा भेरियन्ट एकैपटक सङ्क्रमण भएको पहिलो केस भने बेल्जियममा फेलापरेको थियो । तर नेपालमा भने अहिलेसम्म एकै व्यक्तिमा दुईवटा भेरियन्ट फेलापरेको तथ्याङ्क छैन । तर स्वास्थ्यविद्हरूले भने कोरोना सङ्क्रमण भएको व्यक्तिमा फरक खालको लक्षण देखिए त्यस्तो व्यक्तिमा रहेको भाइरसको जिन सिक्वेन्सिङ् गरेको खण्डमा नेपालमा पनि यो अवस्था देखिन सक्ने बताएका छन् ।
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले नेपालमा पनि एकै व्यक्तिमा दुईवटै भेरियन्टको सङ्क्रमण हुनसक्ने बताएका छन् । नेपालमा विभिन्न व्यक्तिमा सङ्क्रमण भएका नयाँ भाइरसको परीक्षण गर्ने ठाउँ नै नहुँदा पहिचान गर्न नसकिएको उनले बताए ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. रुना झाका अनुसार अहिलेसम्म नेपालमा एकै व्यक्तिमा दुई भेरियन्टले सङ्क्रमण गरेको अवस्था नरहे पनि विभिन्न सङ्क्रमित व्यक्तिहरूमा रहेको भेरियन्टको नमुना परीक्षण गरेको खण्डमा यस्तो भेटिनसक्ने देखिन्छ । विभिन्न देशहरूमा दोहोरो सङ्क्रमण दर र यसको मृत्युदर हेर्दा शून्यप्रायः पाइएकाले मल्टिपल सङ्क्रमण भएका व्यक्तिहरूको अवस्था सामान्य भेरिन्टको जस्तै हुने उनको भनाइ छ ।
यस्तै भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेयले नेपाललाई विदेशी राष्ट्रहरूले जोखिम राष्ट्रका रूपमा लिने गरेका कारण पनि भाइरसको जिन सिक्वेन्सिङमा ध्यान दिनु आवश्यक रहेको बताए । विदेशी राष्ट्रहरूमा एकै व्यक्तिमा दुईवटा भेरियन्ट देखिएकाले नेपाल आउने कुनै व्यक्तिले अन्य व्यक्तिहरूलाई सङ्क्रमण सारेको पनि हुनसक्ने भएकाले यसको जोखिम नेपालमा रहेको उनको भनाइ छ ।
अरू देशमा जस्तै नेपालले पनि बेलाबेलामा भाइरसहरूले जिन सिक्वेन्सिङ् गरेर भेरियन्टको अवस्थाबारे थाहा पाइराख्नुपर्ने उनले बताए ।