गोरखा : उद्धार गर्ने झन्झटिलो प्रक्रियाका कारण गोरखाको दुर्गम चुम्चेत गाउँमा सुत्केरीको मृत्यु भएको छ। सडक सञ्जालले नजोडिएको सो गाउँमा हेलिकप्टरका लागि प्रक्रिया पूरा गर्दागर्दै सुत्केरी हिसे डोमा लामाको मृत्यु भएको स्थानीय फुर्बा याङ्जेन लामाले जानकारी दिइन्।
चुमनुब्री–६ कोम्बाकी २५ वर्षीया हिसे डोमाको बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो। ‘बच्चा त बुधबार राति १२ बजे नै जन्मिएको रहेछ। सालनाल नझरेपछि मृत्यु भएको हो,’ उनले भनिन्, ‘उद्धार गर्न हेलिकप्टर ल्याण्ड गर्नु र मान्छे मरिसक्यो भनेर फोन आउनु एकै चोटी भयो।’ सो गाउँमा बाक्लो हुस्सुका कारण हेलिकप्टर अर्को गाउँ चुम्लिङमा बसेको थियो।
सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसङ्ख्या मन्त्रालयले हेलिकप्टर पठाएको थियो।