भदौ ३, २०७८ बिहिबार

'जग्गी वासुदेव' जसलाई सद्गुरु पनि भनिन्छ ; एक लेखक हुन् । उनले ८ भाषामा १०० भन्दा धेरै पुस्तकको रचना गरेका छन् ।

उनी ईशा फाउन्डेशन नामक लाभरहित मानव सेवी संस्थानका संस्थापक हुन् । ईशा फाउन्डेसन भारतसहित, संयुक्त राज्य अमेरिका, इंग्ल्याण्ड, लेबनान, सिंगापुर एवं अष्ट्रेलियामा योग सिकाउँछ साथै सामाजिक एवं सामुदायिक विकास योजनाका कामहरू पनि गर्दछ । यसलाई संयुक्त राष्ट्रको आर्थिक एवं सामाजिक परिषद्मा विशेष सल्लाहकारको पदवी पनि दिइएको छ । 


सद्गुरुले जीवनलाई सरल जीवन जिउनका लागि विभिन्न उपायहरू बताउने गरेका छन् । उनका जीवन उपयोगी उपायहरूमध्ये सरल जीवनयापनका लागि ३ उपायहरू यहाँ उल्लेख गरिएको छ । 


खाना
सद्गुरुले दुई छाकबीच कम्तीमा ५ देखि ६ घण्टाको अन्तर हुनुपर्ने बताएका छन् । उनका अनुसार यदि कुनै दिन एकै प्रकारको खाना खाँदा कति समयभित्रमा पचाउन सकिन्छ भन्ने कुराले मानिसको स्वास्थ्यको अवस्था बताउँछ । यदि खाना ३ घण्टाभित्रमा नै पच्यो भने त्यसलाई राम्रो मानिन्छ ।

सद्गुरुले दिनमा दुई छाक मात्रै खाना खाँदा शरीरलाई फाइदा पुग्ने बताउँछन् । हरेक पटक खाना खाँदा कम्तीमा ५ देखि ६ घण्टाको अन्तर हुन आवश्यक छ ।  

यस्तै, ३० वर्ष भन्दा बढी उमेरका व्यक्तिहरूले दुई छाक मात्र खाना खाए पुग्छ । भने, बेलुकाको खाना खाएपछि २० देखि ३० मिनेट शारीरिक कसरत गर्न आवश्यक छ । 

निद्रा 
सद्गुरुले शरीरलाई स्वस्थ राख्न निन्द्रा आवश्यक नभएको बताएका छन् । तर, निन्द्राविना बस्नु सम्भव नभएको उनी बताउँछन् । जीवन बाँच्ने सबैभन्दा उत्तम उपाय भनेको शरीरलाई सही तरिकाले आराम दिनु हो । 

निन्द्रा जरुरी हैन । शरीरलाई आरामको आवश्यकता पर्छ । निदाउनै पर्छ भन्ने छैन । आराम गर्ने तरिका धेरै छन् । शरीरलाई पुनः ऊर्जावान् बनाउन निन्द्राको भन्दा आरामको आवश्यकता पर्छ । आराम गर्दा ऊर्जा समीकरण सही हुन्छ  । आराम गरेपछि फुर्तिलो महसुस गरिन्छ । सक्रिय हुँदा ऊर्जा खपत हुन्छ ।  त्यसैले, थकान महसुस हुन्छ । 

टाउकादेखि गोडासम्म शरीरका हरेक अङ्गहरूमा ध्यान दिएर बसेर आराम गर्दा पनि शरीरलाई पुनः ऊर्जावान् बनाउन सकिन्छ ।

मह र मनतातो पानी

कुनै कारणविना नै शरीरमा थकान महसुस हुनु भनेको शरीरमा आइरनको कमी हुनु हो । यस्तो अवस्थामा शरीरले काम गर्दैन । साथै, शरीरको रगतमा अक्सिजनको मात्रामा कमी आयो भने पनि अनावश्यक रूपमा शरीर कमजोर हुन्छ । रगतमा अक्सिजनको मात्रा कमी भयो भने मस्तिष्कमा पनि पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुँदैन । मस्तिष्कमा अक्सिजन प्रवाह भएन भने मस्तिष्कले सही तरिकाले काम गर्दैन । जसले गर्दा व्यक्तिले आफूलाई बुद्धु सम्झिन्छ । त्यसैले शरीरमा आइरन र रगतमा अक्सिजनको मात्रा बढाउन मनतातो पानीमा मह मिसाएर पिउन सकिन्छ । मनतातो पानी र मह मिसाएर पिउँदा कायाकल्प प्रक्रिया तन्दुरुस्त हुनुका साथै मस्तिष्क पनि सक्रिय हुन्छ । 

महले शरीरका विभिन्न प्रणालीमा विभिन्न किसिमका प्रभाव पार्ने गर्छ । मन तातो र तातो पानीमा मिसाएर पिउँदा पनि फरक फरक प्रभाव गर्छ । महलाई उम्लिएको पानीमा हालियो भने महको केही भाग विषालु हुन्छ । महलाई पकाएर खानुहुँदैन । पिउन सकिने तापक्रममा मह पिउँदा फाइदा नै फाइदा हुन्छ ।