साउन २१, २०७८ बिहिबार

कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिकाभरिका सबै स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुखहरूले नगरमा नयाँ स्वास्थ्य शाखा गठन गर्नुपर्ने माग राखेका छन् । कोभिडका वेला स्वास्थ्य शाखा प्रमुखले प्रभावकारी ढङ्गबाट काम गर्न नसकेकाले उनको जिम्मेवारी हेरफेरसहित नगरमा नयाँ स्वास्थ शाखा गठन गर्नुपर्ने माग राख्दै उनीहरूले बिहीबार नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।
पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्ट, झलारी स्वास्थ्य चौकीकी प्रमुख सरस्वती विष्ट, पिताम्बर स्वास्थ्य चौकीका प्रमुख भुवनराज पाण्डेय र आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं-६ का हरि नाथसहित १३ जनाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा स्वास्थ्य संस्थाले अनिवार्य रूपमा नि:शुल्क वितरण गर्नुपर्ने अत्यावश्यक अौषधि पनि समयमा उपलब्ध हुन नसकेको, स्वास्थ्य संस्थासम्म अौषधि ढुवानी नगरेको, ढुवानी खर्च उपलब्ध नगराएको, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध नगराएको, महामारीका वेला अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध नगराएको र नगरपालिकाले कोरोनाका वेला फोकल पर्सन तोकेकाे भए पनि स्वास्थ्य शाखाको एकल निर्णयबाट आफ्ना नजिकका व्यक्तिलाई सहभागी गराइ काम गरेको, स्थापना भइसकेका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूलाई विस्तारित गर्नुको साटो विस्थापित गर्ने मनसाय देखाएको लगायतका आरोप लगाइएको छ ।

यस्तै उनीहरूले नगरमा पर्याप्त स्वास्थ्य कर्मचारी भएर नगरको स्वास्थ्य स्थिति सुधार गर्न सकिने अवस्था हुँदाहुँदै पनि स्वास्थ्य सेवाका सूचकांकहरू :- खोप सेवा, परिवार नियोजन सेवा, पोषण सेवा, बाल स्वास्थ्य सेवा, मातृ स्वास्थ्य सेवालगायतका अत्यावश्यक कार्यक्रमहरूको अवस्था झन्झन् खस्किँदै गएको उल्लेख गरेका छन् । 

स्वास्थ्यकर्मीहरूले कृष्णराज जोशीको संयोजकत्वमा संघर्ष समिति पनि गठन गरेका छन् ।