कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख कार्यकारी अधिकृत डा. जागेश्वर गौतमलाई सरुवा गराएर उनको ठाउँमा डा. रुद्र मरासिनीलाई नियुक्त गरिए पनि डा. गौतम मंगलबार पनि वीर अस्पतालमै हाजिर भएका छन्।
स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरीय निर्णय गर्दै डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरी ट्रमा सेन्टरका अर्थोपेडिक डा. मरासिनीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गौतमको ठाउँमा डा. मरासिनीलाई जिम्मेवारी दिएका थिए। तर स्रोतका अनुसार स्वास्थ्यमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सरुवा सम्बन्धी निर्णय कार्यन्वयन नगर्न भनेपछि सरुवा रोकिएको बताइएको छ।
गौतमलाई सरुवा गरेको भनिए पनि उनी मंगलबार पनि युनिफाइड अस्पतालमै हाजिर भएका हुन्। उनले भने,‘आज म मेरै कार्यालयमै छु। मलाई निर्णय सुल्टियो, उल्टियो जानकारी छैन।’
गौतमका ठाउँमा ल्याइएका मरासिनीको नाममा प्रधानमन्त्री शेरबहादुर देउवालाई चित्त नबुझ्दा गौतम फेरि वीरमै हाजिर भएको बुझिएको छ। ‘मरासिनीको नाममा प्रधाननमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका देउवाको समर्थन नरहेको बुझियो,’ स्वास्थ्य स्रोतले भन्यो।
आफूले स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई फोन गर्दा उनले सरुवा भएको बारे बताएको डा. गौतमको भनाइ छ। यद्यपि डा. गौतमले भने कोभिड १९ केन्द्रीय अस्पतालको प्रशासकीय अधिकृत भइसेकेको अवस्थामा प्रसूति गृहको स्त्री रोग विशेषज्ञकै रुपमा मात्रै पठाएको भन्दै हाजिर गरेर दुई–चार दिनमा राजीनामा दिने बताएका थिए।
उनले भने, ‘मैले हिजो स्वास्थ्य सचिवलाई फोन गरेको थिएँ। तपाईंको प्रसूति गृहमा सरुवा भएको छ भन्नुभएको थियो। त्यत्रो वर्ष त्यो अस्पतालमा निर्देशक भएर काम गरेको, स्वास्थ्य मन्त्रालयको प्रवक्ता भएको, कोभिड १९ केन्द्रीय अस्पतालको प्रशासकीय अधिकृत भइसेकेको अवस्थामा प्रसूति गृहको स्त्रीरोग विशेषज्ञकै रुपमा मात्रै मलाई पठाउनेरु भनेको थिएँ। तपाईंले पठाउनुहोस् म हाजिर गर्छु अनि दुई चार दिनमा राजीनामा दिन्छु भनेको थिएँ।’
‘२७–२८ वर्ष काम गर्यो उसैलाई पेलेर त्यहाँ पठाउने भनेर भनेँ मैले। मलाई एक वचन किन सोधिएन भनेँ। विकल्प त म आफै दिन्छु निरु मलाई हुने पोष्ट त देशमा १५—२० वटा छन्। अनि किन मलाई त्यहीँ पठाउनु पर्यो भनेँ। तपाईंलाई जे मन लाग्छ, त्यही काम गर्नुहोस् डाक्टरसाब तर सचिव जस्तो काम गर्नुहोस् भनेको थिएँ मैले,’ उनले थपे।
यता स्वास्थ्य सचिव डा. रोशन पोखरेल भने उक्त निर्णय उल्टिनसकेको बताउँछन्। उनी भन्छन्,‘उहाँको निर्णय उल्टिएको छैन। उहाँको सरुवा भएकै हो।’
डा. पोखरेलले मंगलबार साँझसम्म यसबारे थप थाहा हुने बताए। ‘उहाँको ठाउँमा को जान्छ भन्नेमा माथिबाट कुरा भएर आउँछ। त्यहाँ अरु निर्णय पनि छ, त्यसमा कुरा मिलेन भन्ने हो। साँझसम्म थाहा हुन्छ।’