वीरगञ्ज (पर्सा), २ कात्तिक : वीरगञ्जमा सार्वजनिक जीवनमा महिला : महिलावादी स्मृतिको एक पहल विषयक तीन दिने फोटो प्रदर्शनी आजदेखि सुरु भएको छ ।
वीरगञ्जको त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम माध्यमिक विद्यालय बिर्तामा सार्वजनिक जीवनमा महिला ‘थिम’ मा आधारित फोटोहरु प्रर्दशनीमा राखिएका छन् । फोटो सर्कलका प्रमुख सङ्कलन कर्ता शिखर भट्टराईले सन् १९३५ देखि सन् २०१० सम्मको अवधिमा नेपालका महिलाले सार्वजनिक जीवनमा गरेको योगदानलाई उजागर गर्नका लागि फोटो प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।
‘‘फोटो प्रदर्शनी विभिन्न पाँच वटा थिममा आधारित भएका फोटोहरु प्रदर्शनीमा राखेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘नेपालको महिलावादी आन्दोलनलाई तस्बिरले सचित्र देखाउने प्रयास गर्नेछ ।’’ वीरगञ्जमा फोटो प्रदर्शनी कात्तिक ४ गतेसम्म चल्नेछ ।
प्रदर्शनीमा जनताको लागि महिला, टुकीमुनिको उज्यालोमा पढ्दै, महिलाका रचना, संसार डुल्दै महिलाको लागि महिला भन्ने थिममा आधारित करिब एक सयभन्दा धेरै फोटो प्रदर्शनीमा राखिएका छन् ।