असोज १२, २०८१ शनिबार

महोत्तरी, १२ असोज (रासस) : महोत्तरीको चुरेकाछका बासिन्दा एक २१ वर्षीय युवाको बाढीमा परी मृत्यु भएको छ । बर्दिबास–१० को चुरेकाछको झ्याउरेभाङ्ग्रेका मानबहादुर थिङ्को आज बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ । 
    
    आज शनिबार बिहान १० बजेतिर आफ्नै बस्ती नजिकको शिरखोला तर्ने क्रममा बाढीले बगाएका थिङ्को पाँच किलोमीटर दक्षिण खयरमारा बजार नजिकको खयरमारा खोला किनारको झाडीमा साँझ शव फेला परेको हो । शिरखोला तल खयरमारा खोलामा मिसिएपछि चार किलोमीटर तल शव पाखा लागेको अवस्थामा स्थानीयले देखेर आफूलाई खबर गरेका इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

    युवक बाढीमा बगेको खबर फैलिएपछि काछबस्ती र खयरमारासम्मका बासिन्दा खोजीमा जुटेका थिए । साँझपख झाडीमा स्थानीयले शव देखेर खबर गरेपछि आफूहरू त्यहाँ पुग्दा शव बाढीमा बगेका थिङ्को रहेको पहिचान भएको प्रनानि पोखरेलले बताउनुभयो । 

    शव बर्दिबास अस्पतालमा पोष्टमार्टमपछि अन्तेष्टिका लागि परिवारजनलाई बुझाइने प्रहरीले जनाएको छ ।