म्याग्दी, ११ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको बेंसीगाउँदेखि नारच्याङ झरना पुग्न करिब एक किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा बिनियोजन गरेको बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको सहयोगमा नारच्याङवेशीदेखि झरनातर्फ जाने एक सय ५० मिटर पदमार्ग निर्माण भएको थियो ।
पछिल्लो दुई आर्थिक वर्षमा बजेट बिनियोजन नभएकाले पदमार्ग निर्माणको काम अधुरो बनेको उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । “रु. दश लाख बजेट विनियोजन भएका आधारमा दुई वर्षअघि डेढ सय मिटर मात्र पदमार्ग बनाएका थियौ”, उहाँले भन्नुभयो ,“थप सात सय ५० मिटर पदमार्ग बनाउनुपर्ने छ । लगातार दुई वर्ष बजेट विनियोजन नभएकाले सुरु भएको योजना अलपत्र परेको छ ।”
नारच्याङ झरना जोड्ने पदमार्ग बजेटले निरन्तरता नपाएर अधुरो भएका म्याग्दीका पदमार्ग निर्माण सम्बन्धी योजनाको एउटा उदाहरण मात्र हो । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले शुरु गरेका म्याग्दीका अधिकांश योजना योजना बजेट अभावमा अधुरा बनेका हुन् ।
उद्योग तथा पर्यटन कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माका अनुसार आर्थिक वर्ष २०८०/८१ मा शुरु भएका १८ वटा पदमार्ग सम्बन्धी योजना मध्य चार वटा मात्र सम्पन्न भएका थिए । “गत वर्ष शुरु भएको कालीबराह पदमार्ग बाहेकका योजनाले यो वर्ष निरन्तरता पाएका छैनन,” उहाँले भन्नुभयो “गन्तब्यसम्म पुग्ने गरि एकै वर्ष बजेट नआउने र अर्को वर्ष निरन्तरता नपाउँदा अधुरो भएको हो ।”
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले योजना छनौट र बजेट बिनियोजन गर्ने क्रममा भएको त्रुटीका कारण पदमार्गका योजना अधुरा भएका बनाउनुभयो । स्थानीय तह, जनप्रतिनिधी, सम्बद्ध कार्यालय र सरोकारवालाहरुले योजनाको प्राथमिकीकरण गरेर सिफारिस गर्ने पद्दतिको विकास नगर्दा आवश्यकता भन्दा पनि पहुँचको भरमा योजनामा बजेट बिनियोजन हुने समस्या देखिएको बताउनुभयो ।
अधुरा योजनाबाट नागरिकले लाभ लिन नसक्ने भएकाले निर्माणाधीन कामका लागि बजेटको निरन्तरता आवश्यक पर्ने सरोकारवाला बताउँछन् । प्रशस्त पर्यटकीय स्थल भएपनि गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा कम बजेट बिनियोजन भएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा गण्डकीका अन्य जिल्लामा . दुई करोड ८० लाख देखि पाँच करोडसम्मका पर्यटन पूर्वाधार सम्बन्धी योजनाका लागि बजेट बिनियोजन गरेपनि म्याग्दीमा १० वटा योजनाका लागि रु. एक करोड २० लाख मात्र आएको उहाँले गुनासो गर्नुभयो ।
म्याग्दीमा प्रदेश सरकारले पर्यटन सम्बन्धी योजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा आठ वटा योजनालाई रु. २० लाख, आर्थिक वर्ष २०७९÷८० मा २१ योजनालाई रु. एक करोड ९२ लाख, आर्थिक वर्ष २०८०/८१ मा १८ योजनालाई रु. एक करोड ५६ लाख बनियोजन गरेको थियो ।
गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले योजना माग, प्राथमिकीकरण र बजेट बिनियोजन गर्ने पद्दतीमा सुधार गर्नुपर्ने बताउनुभयो । स्थानीय तह, निजी क्षेत्र र उपभोक्ताहरुले सम्बद्ध कार्यालय र जनप्रतिनिधीहरुसँग समन्वय गरेर योजना माग गरेमा पदमार्ग निर्माण सम्बन्धी योजनामा देखिएको समस्या समाधान गर्न सकिने बताउनुभयो ।