साउन १५, २०७८ शुक्रबार

प्रशोधित पिउने भनेर बिक्री वितरण गरिने जार तथा बोतलका पानीको गुणस्तरमा समस्या देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७/७८ मा अनुुगमन गरी १६५ वटा नमुना सङ्कलन गरेर परीक्षण गरिएकामा १६ वटा प्रशोधित पानीका उद्योगविरुद्ध मुुद्दा दर्ता गरेको जनाएको छ ।

विभागले आव २०७७/७८ मा खाद्य ऐन र नियमानुसार न्यून गुणस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा एक सय थान मुद्दामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका १६ वटा मुुद्दा दायर गरेको जनाइएको छ ।
विभागका महानिर्देशक उपेन्द्र रायले गत आवमा दर्ता गरिएका धेरै मुुद्दा प्रशोधित पिउने पानीको भएकाले यसको सुधार गर्न विभागको अनुुगमन केन्द्रित भएको जानकारी दिनुुभयो । उहाँका अनुसार मुुद्दा दर्ता गरिएका प्रशोधित पिउने पानीका उद्योग अधिकांश उपत्यकाबाहिरका रहेका छन् ।

विभाग तथा मातहतका कार्यालयबाट आर्थिक वर्ष २०७७/७८ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार दुुई हजार ८३४ नमुना संलग्न भएकामा सङ्कलित नमुनामध्ये खाद्यान्न/दलहनजन्य ७४७ वटा, तेल तथा घिउजन्य ३८२ वटा, फल तथा सागपातजन्य पदार्थका २९९ वटा, दाना पदार्थका २७४ वटा, मसलाका २६६ वटा, चिया कफीका १२४ वटा, दूध तथा दुग्ध पदार्थका २०६ वटा, प्रशोधित पिउने पानीका १६५ वटा, कन्फेक्सनरीका ९० वटा नमुनाको परीक्षण गरिएकामा २१९ वटा नमुना गुणस्तरहीन रहेको विभागले जनाएको छ । विभागका अनुसार गुुणस्तरहीन नमुनामध्ये विभिन्न खाद्यान्नका ३६ वटा, दानाका ३३ वटा, तेल तथा घिउजन्यका ३० वटा, प्रशोधित पिउने पानीका २७ वटा रहेका छन् ।