सिमकोट (हुम्ला), ७ असोजः जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय तहले सुशासन र पारदर्शिता कायम नगरेको गुनासो सर्वसाधारणले गर्दै आएको भएपनि वार्षिक प्रगति विवरण कार्यक्रममा उनीहरु उपस्थित भएनन् ।
गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने भनी स्थानीय सञ्चारमाध्यमबाट सुचना सार्वजनिक गरेपनि नागरिक उपस्थित नभएका हुन् । जिल्ला समन्वय समितिको प्राङ्गगणमा सम्पन्न गाउँपालिकाको वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा आठैवटा वडाका नागरिकको उपस्थिति देखिएन ।
आर्थिक वर्ष २०८०।०८१ मा गाउँपालिकाले सञ्चालन गरेका भौतिक पूर्वाधारका योजना, विषयगत समितिअन्तर्गतका सबै गतिविधि निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले प्रस्तुत गर्नुभएको थियो । जसमा एक सय ४९ वटा भौतिक पूर्वाधारका योजना सम्पन्न भएको जनाइएको थियो । उक्त आवमा रु ५० करोड ५६ लाख ५४ हजार खर्च भएको आय व्यय प्रस्तुत गरिएको थियो ।
जसका लागि कार्यक्रम आयोजना गरिएको हो उनीहरू उपस्थित नहुनु गाउँपालिकाको कमजोरी नभएको उपाध्यक्ष शुसिला रोकायाले बताउनुभयो । गाउँपालिकाको कामप्रति जनता सन्तुष्ट नभएपनि सार्वजनिक सुनुवाईमा उपस्थित हुनुपर्ने उपाध्यक्ष रोकायाले बताउनुभयो ।
अहिलेका नागरिक उपभोक्ता र पैसामुखी भएको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताउनुभयो । गाउँपालिका अध्यक्ष विजय भण्डारीले जानकारी गराउँदा पनि सर्वसाधारण उपस्थित नभएको बताउनुभयो । हाम्रो समाजमा सार बुझ्ने भन्दा रुप हेर्ने प्रवृत्ति रहेको अध्यक्ष भण्डारीको भनाइ छ । आगामी दिनमा कमजोरी सुधारेर जाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।