भदौ १२, २०८१ बुधबार

कञ्चनपुर, १२ भदौ : जिल्लाको बेलडाँडी गाउँपालिकालाई चिनाउन बेलका बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको छ । अभियानअन्र्तगत पहिलो चरणमा चार सय बेलका बिरुवा रोप्न लागिएको हो । स्थानीय युवा गोकर्ण जोशीको अगुवाइमा अभियान सञ्चालन गरिएको हो । 

सार्वजनिक, बाँझो जग्गामा बेलका बिरुवा रोप्ने कार्य भइरहेको अभियानकर्ता जोशीले बताउनुभयो । “बेलको घनाजङ्गल भएकाले यस ठाउँको नाम बेलडाँडी रहन गएको हो”, उहाँले भन्नुभयो, “अहिले बेलका रुखहरु देख्नै नपाइने अवस्था आएकाले अभियान सञ्चालन गरी बिरुवा रोप्न थालेका छौँ ।”

बेलडाँडीको पुरानो पहिचान फर्काउनका लागि अभियान सञ्चालन गरिएको भन्दै बिरुवा खरिद गर्न ‘एक किसान रु एक’ सङ्कलन गरिएको जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार रकम सङ्कलन अभियानअन्र्तगत हालसम्म रु २३ हजार बढी सङ्कलन भएको छ । हालसम्म रु नौ हजार पाँच सयको बिरुवा खरिद गरिएको उहाँले बताउनुभयो ।

बचत रहेको बाँकी रकमबाट दोस्रो चरणमा सञ्चालन हुने बिरुवा रोपण कार्यक्रममा खर्च गरिने अभियानकर्ता जोशीले उल्लेख गर्नुभयो । गाउँपालिकाका सबै वडामा बेलका बिरुवा रोपिने उहाँको भनाइ छ । बेल धार्मिक कार्यका साथै औषधिका रुपमा समेत प्रयोग हुँदै आएको छ ।