साउन १९, २०८१ शनिबार

बरहथवा (सर्लाही), १९ साउनः सर्लाहीको लालबन्दी नगरपालिकास्थित साझेदारी वन क्षेत्रमा बेपत्ता एक पुरुष मृत फेला परेका छन् ।     
     
 आज लालबन्दी नगरपालिका–७, स्थित घिसिङ टोल बस्ने ६१ वर्षीय खिलराज खड्का वनमा मृत फेला परेका हुन् । शुक्रबार घाँस लिन भनेर साइकल लिएर हिँड्नुभएका उहाँ अबेरसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई खोजतलासका लागि राति अबेर खबर गरेका थिए । खोजीकै क्रममा लालबन्दी नगरपालिका–८ स्थित साझेदारी वन मा आज खड्कालाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।     
     
प्रहरीले शव नजिकै घाँस बाँधेको साइकल, झोलामा पोको पारेको घाँस काट्ने कचिया, खुकुरी र पानी खाने बोतल फेला पारेको छ । खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।     
     
शव शवपरीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको र घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।