साउन १२, २०७८ मंगलबार

साङ्केतिक तस्बिर

१२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याउने गरी तयारी अगाडि बढेको जानकारी दिए ।

उनका अनुसार बालबालिकाका लागि ६० लाख मात्रा कोरोनाविरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको छ । जसमा १२ वर्षदेखि माथि उमेरका लागि समेत खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।

अघिल्लो सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशत जनसङ्ख्यालाई खोपको प्राथमिकतामा पारेको भए पनि त्यसमा बालबालिका परेका थिएनन् । अहिले १२ देखि १८ वर्षसम्मका ४९ लाख बालबालिकासमेत गरी दुई करोड ६४ लाख जनालाई खोप दिने लक्ष्यले अब खोपको दायरामा बालबालिकासमेत परेका छन् ।
असोज मसान्तभित्रै एक करोड पाँच लाख ४८ हजार मात्रा खोप आइसक्नेछ र त्यसले देशको एक तिहाइ जनसङ्ख्यालाई समेट्छ । हालसम्म ३४ लाख पाँच हजार १५४ अर्थात् १५.८ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । यस्तै १४ लाख ३० हजार ४१५ अर्थात् ६.६ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।