साउन १५, २०८१ मंगलबार

काठमाडौँ, १५ साउनः सांसद गङ्गाकुमारी बेलबासेले राजनीतिक स्थिरता र विकास निर्माणका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने गरी काम गर्न आग्रह गर्नुभयो । 

    “खर्चिलो चुनाव भयो भनिएको छ । जनताबाट निर्वाचित भएको कार्यकारी प्रमुखलाई निर्वाचन गर्न हामी पहिलेदेखि नै तयार छौँ । यो पक्षमा जाने आँट गर्नुहुन्छ भने हामी समर्थन जनाउँछौँ”, उहाँले भन्नुभयो ।  उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन हुँदा स्थिर सरकार बन्न सक्ने धारणा  राख्नुभयो । 
सांसद आनन्दप्रसाद ढुङ्गाना संविधान संशोधन गर्नु भनेको समावेशी प्रणाली विरोधी नभएको बताउनुभयो । उहाँले प्रतिपक्षी दलले संविधान संशोधन गर्नु भनेको समावेशी विरोधी भएको भन्दै लगत भाष्य प्रचार गरेको बताउनुभयो । 

 उहाँले राजतन्त्र हटाएर गणतन्त्र ल्याउँदा र संविधान बनाउदासमेत सत्तापक्ष पार्टी सधैँ समावेशीकै पक्षमा रहदै आएको बताउनुभयो । “समानुपातिक समावेशी नेपाली जनताले पाइसकेको अधिकार हो”, उहाँले भन्नुभयो, “सरकार विरोधी होइन, प्रतिपक्षीको गलत प्रचार हो ।” 

उहाँले जनताले अब सरकारसँग परिणाम खोजेको उल्लेख गर्दै त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । संविधान संशोधन निकासको अर्को आधार भएको उहाँको तर्क थियो । गठबन्धन सरकारले संविधानको संशोधनको कुरा उठाउनु मुलुकलाई निकास दिनका लागि भएको उहाँले बताउनुभयो । संविधान बनेको दश वर्षपछि यसका सबल र निर्वल पक्षमाथि समीक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।