गत केही सातादेखि लकडाउनमा लगातार दिइँदै आएको छुटसँगै कोरोनाको ग्राफ पनि उकालो लाग्दै गएको छ । काठमाडौंका अस्पतालहरुबाट आएका सूचनाअनुसार त्यहाँ कोभिडका बिरामीको चाप बढ्दै गएको छ भने फेरि एकपटक कोभिड वार्डहरु भरिन थालेका छन् । यसैगरी पीसीआर जाँच गराउनेहरुको संख्या पनि बढेको छ । समग्रमा भन्ने हो भने लामो लकडाउनपछि केही नियन्त्रणमा आएजस्तो देखिएको कोरोना महामारीको विपत्ले फेरि टाउको उठाउन थालिसकेको छ ।
अहिले कोरोना महामारीले विश्वव्यापी रुपमै राम्रो संकेत दिइरहेको छैन । संसारका कैयन् देशमा कोरोनाको तेस्रो लहर सुरु भइसकेको छ । स्वयं विश्व स्वास्थ संगठनका महानिर्देशकले संसारभर कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेको र यसले संसारलाई कोरोनाको तेस्रो लहरको चपेटामा पार्ने चेतावनी दिइसकेका छन् । महानिर्देशकले डेल्टा भेरियन्ट संसारका ११२ देशमा पुगिसकेको बताउँदै अहिलेको अवस्था कोरोनाको तेस्रो लहरको प्रारम्भिक चरण भएको बताएका छन् । यो नयाँ भेरियन्ट थप नयाँ मुलुकमा पुग्ने र संक्रमितहरुको संख्या बढ्ने क्रमसँगै मानिसहरुको मृत्यु हुने क्रममा पनि बढेको छ ।
गरिबी र अशिक्षाका कारण यो महामारीविरुद्ध सचेतना र नियमहरुको पालनामा समस्या देखिएको छ भने आमसञ्चार र नयाँ मिडियामा आउने सूचनाहरुबाट मानिसहरु दिग्भ्रमित भएको अवस्था पनि छ ।
यद्यपि मानिसहरुले विश्व स्वास्थ संगठन तथा सरकारद्वारा जारी निर्देशिका तथा नियमहरुको पालना ठीक ढंगले गरिरहेका छैनन् भने नियमक निकायहरुको अनुगमन र कडाइसमेत फितलो हुँदै गएको छ । निषेधाज्ञामा दिइएको छुटसँगै आममानिस कोरोनाको खतराप्रति लापरवाह देखिएका छन् । सरकारी निकायहरु लकडाउन खुकुलो गर्नुको अर्थ कोरोनाको जोखिम घटेको होइन भन्ने कुरा जनतालाई बुझाउन पूरै असफल भएका छन् । खुकुलो भएको निषेधाज्ञासँगै सावधानी बढाउनुपर्ने कुरामा कमैले ध्यान पुर्याएको पाइन्छ । गरिबी र अशिक्षाका कारण यो महामारीविरुद्ध सचेतना र नियमहरुको पालनामा समस्या देखिएको छ भने आमसञ्चार र नयाँ मिडियामा आउने सूचनाहरुबाट मानिसहरु दिग्भ्रमित भएको अवस्था पनि छ ।
कोरोनाविरुद्धको खोप अभियानलाई व्यापक र तीव्र बनाउँदै नियमहरुको पूर्ण पालना नै कोरोनासँग लड्ने प्रमुख तथा महत्त्वपूर्ण उपाय हो । यद्यपि कोरोनाविरुद्धको खोप ल्याउन नै निकै ढिला भइसकेको छ । त्यसको देशव्यापी समानुपातिक वितरणमा पनि समस्या देखिएको छ । खोपप्रतिको जागरुकतामा पनि कमी छ भने खोप केन्द्रहरु उत्तिकै अव्यवस्थित छन् । त्यसमाथि हाम्रो खोप अभियान राजनीति, निहित स्वार्थ, पूर्वाग्रह, धाँधली, पक्षपात आदिको सिकार हुँदै आएको छ । मुखले भन्नेबाहेक देशमा पर्याप्त मात्रामा खोप भित्र्याउने प्रक्रिया पनि निकै सुस्त छ । अहिलेसम्म निजी क्षेत्रले खोप ल्याउन अनुमति नपाउनु, स्थानीय सरकारहरुले आफूलाई खोप किन्न अनुमति दिइयोस् भनेर गरेको अनुरोध स्वीकार नहुनुको कारण जे(सुकै होस् यसले खोपमा संघीय सरकार एकाधिकार स्थापित गर्न चाहन्छ भन्ने कुरा नै साबित हुन्छ र त्यसका पछाडि के(कस्ता स्वार्थले काम गरेको छ जनताले नबुझेका होइनन् ।
हामीकहाँ कोरोनाको डेल्टा भेरियन्टको अवस्था कस्तो छ, के-कति बिरामी छन् भन्ने कुरा स्पष्ट छैन । यससम्बन्धी खोज-अनुसन्धान पनि भएको छैन । नुवाकोट, पोखरालगायत ठाउँका केही बिरामीमा डेल्टा भेरियन्ट देखिएको पुष्टि भइसकेको सन्दर्भमा यो भेरियन्ट नेपाल भित्रिसकेको कुरामा भने सन्देह गर्नुपर्ने अवस्था छैन ।
भारतमा विज्ञहरुले अगस्त महिनाको अन्तदेखि डेल्टा भेरियन्टको प्रकोपसँगै कोरोनाको तेस्रो लहर सुरु हुने चेतावनी दिइसकेका छन् । नेपालमा पनि चिकित्सकहरुले यो विषयमा सबैको ध्यानाकर्षण गराइरहेको पाइन्छ । यस्तो स्थितिमा सरकारले ढिलाइ र लापरबाही नगरी समयमै आवश्यक कदम चाल्नु वाञ्छनीय छ । साथै कोरोनाको विस्तार रोक्न कठोर कदम चाल्न पनि पछाडि हट्नु हुँदैन । सरकारले समयमै आवश्यक तयारी र सावधानी नअपनाउने हो भने एउटा ठूलो क्षति र समस्या अवश्यम्भावी छ ।