विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेपछि वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारहरू अलपत्र परेका छन् । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदारहरू मारमा परेका हुन् ।
निषेधाज्ञाका कारण वैदेशिक रोजगारमा जाने कामदार नेपालमा नै रोकिएर बसेका थिए । अहिले निषेधाज्ञा करीब करीब हटिसकेको छ भने अन्तरराष्ट्रिय उडान पनि खुला भएको छ । तर, खोप लगाउन नपाउँदा अधिकांश कामदार वैदेशिक रोजगारमा जान पाएका छैनन् ।
साउदी, कतारलगायत मुलुकले अमेरिकी खोप जोन्सन एन्ड जोन्सन, भारतीय खोप कोभिडसिल्डलगायत खोप अनिवार्य गरेका छन् । यस्तै, अन्य मुलुकले पनि सोहीअनुसार खोप तोकेका छन् ।