काँक्रेविहार (सुर्खेत), १४ असार : उत्तर पश्चिम क्षेत्रलाई जोडने महत्वपूर्ण सडकको रुपमा रहेको भेरी करिडोरमा पुलको ठेक्का लिएका व्यवसायीले निर्माण सुरु नगर्दा आवागमनमा सास्ती हुँदै आएको छ ।
करिडोरको जाजरकोट–डोल्पा सडक खण्डभित्र पर्ने एक सय १८ किलोमिटर सडकमध्ये ५६ किमी निर्माणका लागि विसं २०७७ माघ २ गते क्याराभान हिराचन जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का भएको तीन वर्ष बढी भइसक्दा पनि निर्माण कम्पनीले काम नगर्दा उक्त खण्ड भएर यात्रा गर्नेलाई सास्ती हुँदै आएको हो ।
जेभीले नलगाड नगरपालिकाको नलगाड खोला, नलगाड–९ को त्रात्रखोला, वडा नं ८ को मैदेखोला, वडा नं ११ को ताक्सुगाड खोला, झुर्मेखोलाको पक्की पुलकोसमेत ठेक्का लिएको थियो । यी पुल भेरी करिडोरका ‘लाइफलाइन’ हुन् ।
सडक विभाग बबरमहल काठमाडौँमा अहिले पुलको विस्तृत परियोजना प्रतिवेदन मात्र पाइन्छ । सरकारी संयन्त्रले चासो नदिँदा, निर्माण व्यवसायी चन्द्र थकालीको लापरवाहीका कारण पुल निर्माणतर्फ ध्यान नदिएको स्पष्ट देखिन्छ”, पूर्वमन्त्री गणेशप्रसाद सिंहले भन्नुभयो । पुल निर्माण किन रोखिएको भन्दै सडक विभाग पुग्नुभएका पूर्वमन्त्री सिंहले सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपनिर्देशक ललिजन खनाललगायतसँग छलफल गर्नुभएको थियो ।
छलफलपछि लामो समयदेखि अलपत्र परेका पुल निर्माणमा ध्यान दिन भेरी करिडोर सडक आयोजनालाई निर्देशन दिइएको छ । काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्कामाथि ठेक्का थुपारेर जिल्लाको विकासमा बाधा पुगेको बताउनुभयो ।
नलगाड–१२ को तल्लुस्थित भेरी नदीको पुल र डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ र छलगाडको पुलको डिजाइन पास भए पनि काम सुरु हुनसकेको छैन । छलगाडमा पुल निर्माणस्थल वरिपरीका स्थानीयसँग एक चरण गुनासो सुन्ने र प्रभावका विषयमा छलफल भएकाले यथाशीघ्र काम थालिने नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताउनुभयो ।
पुलको ठेक्का लागेको तीन वर्षसम्म डिजाइनदेखि पुल निर्माण सुरु नहुनु भनेको भेरी करिडोरका नागरिकलाई धोका दिइएको उहाँको भनाइ छ । क्याराभानले ठेक्का लिएर काम नगर्ने प्रवृत्ति देखाएको भन्दै तत्काल काम नगरे अन्य प्रक्रिया अपनाइने उहाँले बताउनुभयो ।
क्याराभान हिराचन जेभीको ठेक्का लिएको पुल निर्माणकार्य सुरु नभए पनि म्याद थपको काम भने चलिरहेको छ । यो विषयमा थप जानकारी लिनका लागि
आयोजनाका प्रमुख सुनिल रञ्जीतकारसँग सम्पर्क गरी विवरण बुझ्दा हिराचनले अलपत्र पारेको करिडोरका पुल यत्ति बिल्ड्रसले निर्माण गर्नेगरी नयाँ ठेक्का लिएको जानकारी दिनुभयो । यत्तिका भीमराज केसीले क्याराभानको ठेक्कामा रहेका पुल लिने मौखिक सहमति भए पनि क्याराभानले कर चुक्ताको कागज दिन नसक्दा खाता खोल्ने काम हुन नसकेको बताउनुभयो । कर चुक्ताको कागज पाउन साथ काम अगाडि बढ्ने उहाँको भनाइ छ ।
अहिले यत्तिले नै ५६ किलोमिटर सडकको पिचको काम गरिरहेको छ । यो भन्दा अगाडि भेरी पुलमा निर्माण हुन नसकेको तल्लुस्थित पुलसमेत यत्ति विल्ड्रसले नै बैंक ज्ञारेन्टी राखिदिएपछि पुल निर्माण कार्य पूरा भएको छ । यही क्याराभानले नै जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको त्रिवेणीस्थित भेरी नदीको पुल १६ करोडमा लिएर अलपत्र पारेको छ । पुलको एकातिरको पिल्लर मात्र उठाएर काम बन्द हुने अवस्थामा पुगेको छ ।
यत्ति बिल्डर्सले जिल्ला लिएको पुलको कामले भने गतिमा गएको छ । रुकुम पश्चिमको आठबीसकोटको पिपलचौरस्थित छहरेखोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुल निर्माण तीव्र गतिमा भइरहेको छ ।
क्याराभावसँग पुलको विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन नसकेको नेकपा (माओवादी केन्द्र) जाजरकोटका इन्चार्ज गगनबहादुर खडकाले बताउनुभयो । निर्माण कम्पनीले ठाउँठाउँमा ठेक्का लिँदै अलपत्र पार्दै गरेपछि भेरी करिडोरभित्रका नागरिक आक्रोशित भएका छन् । कागजमा पुलको नाम हेरेर तीन जिल्लाका नागरिक कति दिन बस्ने भन्दै खडकाले प्रश्न गर्नुभयोे ।