साउन ५, २०७८ मंगलबार

प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले खरिद गरेको कोभिसिल्ड उपलब्ध गराउने वचन दिएको ट्विटमार्फत जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो।

गत फागुनमा नेपालले खरिद गरेको १० लाख कोभिडसिल्ड खोप दिने मोदीले वचन दिएका हुन् । सोमबार नै भारतीय प्रधानमन्त्री मोदीले  ट्विट गरी भारत–नेपालबीचको आगामी फराकिलो मित्रताको लागि सँंगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ट्विटमा मोदीले भनेका छन्, ‘कोभिड १९ महामारीविरुद्धको लडाइँसहित सहकार्य गर्नेछौं ।’ आइतबार नै भारतले नेपालमा फैलिरहेको कोभिड १९ विरुद्धको लडाइँमा सहयोग जनाउँदै १ सय ५० थान पिडियाट्रिक आइसियु बेड प्रदान गरेको थियो। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आइसियु वेड हस्तान्तरण गरेका थिए ।