अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिँदै छ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्लाबाहेकका सबै जिल्लाहरूमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपाङ्गताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलगायतलाई दिइँदै छ । काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।