साउन ३, २०७८ आइतबार

कोरोना भाइरसको सङ्क्रमण बढेर महामारीको रूप लिएपछि २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ । तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् ।

विशेष गरी सामूहिक कोरोना बीमा गरेकाहरूको बीमा रकम भुक्तानीमा ढिलाइ भइरहेको छ । कुनै पनि महामारीको बीमा गर्ने प्रचलन विश्वका अन्य देशमा नभए पनि नेपालमा भने लघु बीमाअन्तर्गत परीक्षणका रूपमा कोरोना बीमा थालिएको थियो । आर्थिक वर्ष २०७७÷७८ को बजेटमा नै कोरोना बीमासम्बन्धी व्यवस्था गर्ने उल्लेख भएपछि बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ जारी गरेर प्रतिव्यक्ति ५० हजार र एक लाख गरी दुई किसिमको बीमा लेखमार्फत बीमा गर्न सुरु गरेको थियो ।

बीमा समितिले २०७७ चैत ३० गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार ९१ हजार ६७३ जनाको बीमा दाबी भुक्तानीको फाइल परीक्षण पूरा भएको छ । त्यसमध्ये ६० हजार ५८७ जनाले पाँच अर्ब ८५ करोड १५ लाख रुपियाँ प्राप्त गरिसकेका छन् । चैत पछाडिको विवरण भने समितिले सार्वजनिक गर्न सकेको छैन ।