साउन २, २०७८ शनिबार

जाजरकोट । जिल्लामा कोभिडको समयमा अग्रपङ्क्तिमा खटेर काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयलले प्रदेश सरकारसँग माग गरेको रु ४० लाख रकमभन्दा झण्डै आधा बजेट प्रदेशले स्वास्थ्य सेवा कार्यालयमा पठाएपछि स्वास्थ्यकर्मीहरू आक्रोशित भएका हुन् ।

२३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलबभत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगतरूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलबभत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैशीले बताए ।

तलब, भत्ता वितरण गर्दा न्याय समानताभन्दा पनि सबैको चित बुझाउने खालको भएका कारण आफूहरूले सो रकम फिर्ता गरेको एक स्वास्थ्यकर्मीले बताए । लामो समयदेखि तलबभत्ता नपाएका स्वास्थ्यकर्मीले धेरै सङ्घर्षपछि पाएको रकमसमेत असमानता भएको भन्दै आक्रोश पोखेका हुन् ।

त्यस्तै स्वास्थ्य सेवा कार्यालयका कर्मचारीबीचमा द्वन्द्वका कारण काम गर्न मुस्किल भएको कर्मचारी बताउँछन् ।