जेठ ११, २०८१ शुक्रबार

झापा, ११ जेठः शिवसताक्षी नगरपालिकाको गौरव आयोजनाका चक्रपथ निर्माण धमाधम भइरहेको छ । हालसम्म ७५ प्रतिशत कार्यप्रगति भएको नगरपालिकाले जनाएको छ ।

नगरका सबै वडालाई पालिकासँग जोड्नेगरी निर्माण थालिएको चक्रपथको २८ किलोमिटर खण्डमा काम सम्पन्न भएको पालिकाका सूचना अधिकारी प्रकाश चौधरीले राससलाई जानकारी दिनुभयो ।  चक्रपथ ३९ किलोमिटरको हुनेछ । नगर चक्रपथमा पूर्वपश्चिम राजमार्र्ग र शिवगञ्ज–व्याङडाँडा रोडबाहेकका खण्डमा कालोपत्र भइरहेको छ । पञ्चवर्षीय योजनाअनुरुप २०७८ सालमा निर्माण सुरु भएको हो । 

चक्रपथ निर्माणका लागि रु सात करोड केन्द्रीय सरकार, रु एक करोड ३० लाख कोशी प्रदेश सरकारले लगानी गरेको छभने बाँकी लगानी पालिकाको आन्तरिक स्रोतबाट भएको छ । 

स्थानीय नागरिकलाई आवातजावतमा सहज पहुँच होस् भन्ने उद्देश्यले निर्माण गरिएको चक्रपथले गाउँलाई सहरसँग जोडेको छ । चक्रपथ माइधार–धरमपुर, दक्षिणमा मङ्गलबारे–घेरावारी, कमल पुल–पाँचगाछी बजार हुँदै बुलोचोकबाट वडा नं ४ र ५ हुँदै शिवगञ्जसम्म जोडिएको छ । शिवगञ्जबाट व्याङडाँडापूर्व झरना पुल हुँदै चिल्लागढ–नहरसम्म विस्तार गरिने छ ।