खोटाङ, ७ जेठ : नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव’अन्तर्गत राष्ट्रिय गायन प्रतियोगिताको उपाधि मिलन विश्वकर्माले जित्नुभएको छ ।
दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा गएराति सम्पन्न प्रतियोगितामा १८ वर्षमुनिका २९ जना प्रतिस्पर्धीको सहभागिता थियो । प्रतियोगितामा २८ जनालाई पछि पार्दै मिलनले उपाधि जित्नुभएको हो ।
देशभरका २९ जनाको सहभागिता रहेको प्रतियोगितामा सुदीप विश्वकर्मा दोस्रो, कञ्चन राई तेस्रो, अदिती शाक्य चौथो र डेनिस राई पाँचौँ हुनुभएको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः नगद रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र सात हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजयी तथा सहभागी गायकगायिकालाई कार्यक्रमका प्रमुख अतिथि, गीतकार एवं कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री राजन राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । खोटाङ कलाकार समाजको सहआयोजनामा सञ्चालन भएको राष्ट्रिय गायन प्रतियोगिताको निर्णायकमा सङ्गीतकार महेश खड्का, गायिका पार्वती राई र गायक तथा सङ्गीतकार रोशन राई रहनुभएको थियो ।
प्रतियोगितामा सहभागीमध्ये पहिलो चरणबाट दोस्रो चरणमा उत्कृष्ट १५ जना छनोट गरिएको थियो । उत्कृष्ट १५ मा छनोट भएकाले पुनःप्रस्तुति दिएपछि विजेतासँगै उत्कृष्ट पाँच छनोट गरिएको सहआयोजक समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रुपकुमार राईले जानकारी दिनुभयो ।
गत वैशाख ३१ गतेदेखि यही जेठ १० गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत गायन प्रतियोगिता समापनका अवसरमा वरिष्ठ सङ्गीतकार महेश खड्का र गायिका पार्वती राईलाई सम्मान गरिएको छ । खोटाङमा जन्मिएर नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उहाँहरुलाई नगद रु सात हजार सात सय ७७ नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
खेलकुदका माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउने, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउने, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायत उद्देश्यसहित खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।
एघार दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत गत वैशाख ३१ गते एथ्लेटिक्स विद्याका प्रतियोगिता तथा जेठ ४ गते खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन गरिएको थियो ।
एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत खुला महिला/पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले पाउनुभएको छ । उपाधि विजेता बुढा र राईलाई जनही नगद रु ७५/७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्रिधार्मिकस्थल हलेसीमा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै सुनसरीका कवि किरण सिवाले उपाधि जित्नुभएको थियो । कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले रु ४० हजार राशीको उपाधि जितेको हो ।
जेठ ८ गतेदेखि १० गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुँदैछ । सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी प्रतियोगितामा महिला/पुरुष दुवै विधाका टोली प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार एक सय ११, रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
चन्दा सङ्कलन तथा दाताको सहयोगमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब रु ५२ लाख खर्च हुने आयोजक संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो ।
दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो ।
महोत्सव सफल पार्न जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर नौ वटा उपसमिति गठन गरिएको छ । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीका साथै साहित्यिक एवं सङ्गीतिककर्मीहरु दिक्तेल बजारमा भेला भएका छन् ।