साउन १, २०७८ शुक्रबार

साङ्केतिक तस्बिर

नेपालमा कुल खोप लगाउनयोग्य जनसङ्ख्यामध्ये हालसम्म ५.०९ प्रतिशतले मात्र पूर्ण खोप प्राप्त गरेका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । जसमा ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ४८ हजार १ सय ३४ जनाले भेरोसिलको दोस्रो मात्रा (पूर्ण खोप) लगाएका हुन् ।

स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने योजना बनाएकामा हालसम्म अत्यल्प नागरिकले मात्र पूर्ण खोप लगाउन पाएका छन् ।

यस्तै, २६ लाख २१ हजार ४ सय ७६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ९२ हजार ९ सय ९२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् ।

हालसम्म झन्डै ५८ लाख मात्रा कोरोना सङ्क्रमणविरुद्धको खोप नेपाल भित्रिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत ८ माघ २०७७ देखि हालसम्म ५७ लाख ८२ हजार ८ सय ५० मात्रा खोप नेपाल भित्रिएको हो ।