जेठ २, २०८१ बुधबार

गोदार (धनुषा), १ जेठः जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा रु डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ ।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीन दिनमा रु एक करोड ५८ लाख ६५ हजारभन्दा बढीका सामानसहित गाडी र चालकलाई नियन्त्रणमा लिइएका जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतको इकाइबाट खटेको प्रहरी टोलीले गत वैशाख २९ गते बिहान बिलविजकभन्दा रु २३ लाख ४५ हजार आठ सय ४० बढीका  सामानसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको  । 

यस्तै वैशाख ३० गते राती रु ३४ लाख ९१ हजार दुई सय बराबरको २१ क्वीन्टल प्याजसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको तिवारीले बताउनुभयो । 

त्यसैगरी वैशाख ३१ गते दिउँसो रु ८९ लाख ४६ हजार ९०० सय बराबरको ६ सय कार्टुन मदिरासहितको ट्रक ढल्केवर नियन्त्रणमा लिएको र सोही दिन गणेशमान चारनाथ नगरपालिका-८ बाट रु १० लाख ८१ हजार तीन सय ३२ बराबरको सामानसहित मोटरसाईकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिएको सामान तथा गाडीहरू थप अनुसन्धानका लागि सम्बन्धित निकायहरु आन्तरिक राजश्व कार्यालय जनकपुर, जनकपुर भन्सार कार्यालय, र राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएका छन्। 
प्रहरी उपरीक्षक तिवारीले भन्सार छलेर ल्याइएका सामानको ओसारपसार रोक्न वैशाख अन्तिम सातादेखि अभियानकै निगरानी बढाइएको र यसबाट राजश्व चुहावट न्यूनीकरणमा सघाउ पुग्ने अपेक्षा रहेको बताउनुभयो ।