बैशाख २७, २०८१ बिहिबार

दाङ, २७ वैशाख : तुलसीपुर उपमहानगरपालिका –६ गोलौराका ४७ वर्षीय चन्द्रबहादुर डाँगीले व्यावसायिकरुपमा उन्नत जातका गाईपालन गर्नुभएको छ । उहाँ एक सफल गाईपालकका रुपमा चिनिनुभएको छ । उहाँले व्यावसायिकरुपमा उन्नत जातका गाईपालन गरेर आत्मनिर्भर बन्नुभएको छ भने आर्थिकरुपमा सक्षम बन्दै जानुभएको छ ।

    विगत नौ वर्षदेखि सो पेसा अङ्गालेका डाँगीलाई अहिले घरपरिवारका तीन जना सदस्यले पनि दिनभर सहयोग गरिरहनुभएको छ । डाँगी आजभोलि गाईका बाच्छाबाच्छीलाई स्याहार गर्ने कार्यमा निकै व्यस्त देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबै खर्च कटाएर वार्षिकरुपमा रु छ लाख बचत गर्न सफल भएको छु ।”

    नेपाल प्रहरीमा  विभिन्न पदमा कार्यरत रहेका डाँगी विसं २०५५ मा   जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत हुनुन्थ्यो ।  त्यस समयमा उहाँ तत्कालीन द्वन्द्वको समयमा नेकपा (माओवादी)ले रक्दामा थापेको एम्बुसमा परी घाइते हुनुभएको थियो । घाइते भएपछि लामो समयको उपचारपछि बाँचेको बताउने डाँगीले तत्कालीन सरकारले द्वन्द्वमा परी अशक्त, घाइते भएका सुरक्षाकर्मीलाई सेवाबाट अवकाश दिने नीति ल्याएपछि आफू विसं २०५९ मा सेवानिवृत्त भएको बताउनुभयो ।

    सोलगत्तै उहाँ रोल्पास्थित आफ्नो घरमा केही समयसम्म उपचार तथा आराम गरी बस्नु भएको र त्यसपछि बसाइँ सरेर दाङको तुलसीपुरमा आउनुभएको हो । डाँगीले आफ्नो स्वास्थ्यमा सुधार आएपछि तुलसीपुरमा होटल सञ्चालन पनि गर्नुभयो । घाटा भएपछि होटल व्यवसाय छोडी एक सहकारी संस्थामा जागिर खान सुरु गर्नुभयो ।
 
    सोही सहकारीमा बचत तथा ऋण प्रवाहमा काम गर्दा कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको जानकारी प्राप्त भएपछि आफूले विसं २०७२ देखि सहारा पशुपालन फर्म खोलेर उन्नत जातको गाईपालन सुरुआत गरेको उहाँले बताउनुभयो । सुरुका वर्षमा स्थानीय व्यक्तिको दुई बिघा जमिन वार्षिक रु १२ हजार भाडामा लिई रु एक लाख लगानी गरेर एउटा जर्सी गाईपालन गरेर सुरुआत गरेको बताउने डाँगीकहाँ अहिले चार वटा जर्सी, १० वटा होलेस्टन, एउटा शाहीवाल जातका गरी जम्मा १७ वटा गाई र १० वटा बाच्छाबाच्छी गरी जम्मामा ३७ वटा रहेका छन् । 
 
    एउटा जर्सी गाईको मूल्य रु एक लाख, होलेस्टन जातको गाईको मूल्य रु दुई लाख र साहीवाल जातको गाईको मुल्य रु. एक लाख ५० हजार पर्ने डाँगी बताउनुहुन्छ । अहिले उहाँले दैनिक  एकसयदेखि  एक सय ५० लिटरसम्म  दुध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्नुहुन्छ । केही दुध आफ्नै फर्मबाट स्थानीवासीले खरिद गरी लिनेगरेको उहाँले बताउनुभयो ।  दाङमा दुधको मुल्य खुद्रामा रु एक सय प्रतिलिटर र दहीको रु ११० रहेको छ ।

     फर्ममा दुध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका वडा १ंं० निवासी ४५ वर्र्षीय   सुनी चौधरी आफ्नै घर आँगनमा शुद्ध दुध खान पाइने भएकोले किन्न आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “यसअघि एक लिटर दुध किन्न  तुलसीपुर बजार जानुपर्ने वाध्यता थियो तर अहिले घर छेउमा ताजा दुध पाउँदा खुसी लागेको छ ”। 

    डाँगीको फर्ममा अहिले सम्म रु. २५ लाख सम्म लगानी भइसकेको छ । दुग्धजन्य पदार्थ र मूल बिक्रीबाट वार्षिक रु. १९ देखि २० लाखसम्म आम्दानी हुने गरेको र सबै खर्च कटाएर रु आठ लाख बचत हुने गरेको डाँगीले बताउनुभयो । आफुले दुई बिघा जमिन  गाइपालनको लागि भाडामा लिए पनि सिँचाइ अभावका कारण घाँसखेती गर्न नसक्दा समस्या हुने गरेको छ । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको पनि डाँगीले बताउनुभयो । 

    “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, डाँगीले भन्नुभयो, उहाँले थप्नुभयो, “चार वर्षअघि तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट गाईपालक किसान भनेर पुरस्कृत ग¥यो, त्यसबाट थप हौसला मिलेको छ” ।  त्यस्तै कोरोनाका कारण गरिएको बन्दाबन्दीको समयमा आफूले उत्पादन गरेको दूध बजारमा बिक्री नहुँदा केही समस्या भए पनि अहिले भने बजारको कुनै समस्या नभएको डाँगीले बताउनुभयो ।

    छोटो समयमा कम लगानी गरेर मनग्य आम्दानी गर्न सकिने भएकाले फर्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरिदका लागि मानिस आउने गरेको उहाँले सुनाउनुभयो ।  पढेलेखेकाहरु पैसा कमाउनकै लागि जागिर खानैपर्छ भन्ने
सोच राख्नु गल्ती हुने भनाइ राख्ने डाँगीले साँच्चिकै पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने उहाँको भनाइ छ  । तर त्यसका लागि राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन, उत्पादित सामग्रीलाई उचित बजार व्यवस्थापनमा सहयोग गर्न उहाँले सुझाव दिनुभएको छ ।